माघ २४ गते सुरक्षित इन्टरनेट दिवस २०२३ मनाइने

Technology Khabar १८ माघ २०७९, बुधबार

माघ २४ गते सुरक्षित इन्टरनेट दिवस २०२३ मनाइने

काठमाडौं ।

बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवद्र्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि प्रत्येक वर्ष फेब्रुअरीमा विश्वव्यापी रूपमा ‘सुरक्षित इन्टरनेट दिवस’ विश्वका १७० भन्दा बढी देशहरुमा मनाइन्छ। सन् २०१९ देखि चाइल्डसेफनेटले सुरक्षित इन्टरनेट दिवसको नेपाल सचिवालयको रुपमा सुरक्षित इन्टरनेट दिवसका आयोजना र प्रवद्र्धन गर्दै आएको ।

यस दिवसले डिजिटल प्रविधिको सकारात्मक र सुरक्षित प्रयोगबारे सचेतना बढाउन तथा सुरक्षित अनलाइन संसार सिर्जना गर्नका लागि हामी सबैले निर्वाह गर्नसक्ने भूमिकाको खोजी गर्नका लागि अवसर उपलब्ध गराउँछ।

सुरक्षित इन्टरनेट संसार सिर्जनाका लागि सघाउने अभियानमा सहभागी बन्न यस दिवसले युवावर्ग, अभिभावकहरू, शिक्षकहरू, सामाजिक कार्यकर्ताहरू, कानुन कार्यान्वयनकर्ताहरू, कम्पनीहरू, नीति निर्माताहरू तथा अन्य सबैलाई आह्वान गर्दछ । आ–आफ्नो भूमिका निर्वाह गर्नका लागि सहभागी बनौं !

चाइल्डसेफनेट, बालबालिका तथा युवावर्गका लागि सुरक्षित इन्टरनेट प्रवद्र्धनमा समर्पित एक विशिष्टिकृत संस्था हो ।

बालबालिका तथा युवा वर्गका लागि अनलाइन सुरक्षा किन आवश्यक छ?

आजको डिजिटल युगमा सूचना तथा सञ्चार प्रविधि क्षेत्र तीव्रताका साथ अगाडि बढिरहेको छ। तीव्र प्रगतिसँगसँगै यस क्रान्तिले आफ्नो साथमा असख्य नकारात्मक तथा डरलाग्दा प्रभावहरूलाई पनि अस्तित्वमा ल्याइरहेको छ। डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्नेहरुमा बालबालिका तथा युवाहरु पनि रहेका छन्।

डिजिटल प्रविधिको असुरक्षित प्रयोगले उनीहरूलाई अनलाइन यौन दुव्यवहार एवं शोषण, साइबर बुलिङ्ग, फिसिङ्ग तथा सेक्स्टोर्सन जस्ता गम्भीर जोखिमहरूप्रति संवेदनशील बनाउँछ। यस्ता जोखिमहरूले बालबालिकाको मानसिक एवं बौद्धिक विकासलाई प्रभावित बनाउनुका साथै उनीहरूलाई हतोत्साही बनाउने एवं उनीहरूको आत्मसम्मानमा ह्रास ल्याउने सम्भावना हुन्छ। बालबालिका, युवा वर्ग, अभिभावकहरू, शिक्षकहरू तथा सरकारले साइबर सुरक्षालाई गम्भीरतापूर्वक लिन इन्टरनेटलाई सुरक्षित स्थान बनाउनका लागि आ–आफ्ना उत्तरदायित्वहरू निर्वाह गर्न आवश्यक छ।
साइबर सुरक्षा इन्टरनेटका सम्पूर्ण प्रयोगकर्ताहरूका लागि सान्दर्भिक विषयवस्तु भएकोले हाम्रा बालबालिका तथा युवाका लागि इन्टरनेटलाई सुरक्षित बनाउन हामी सबै उत्तरदायी छौं। त्यसैले आउनुहोस् हामी सबै मिलेर इन्टरनेटलाई सुरक्षित बनाऔं र बालबालिका तथा युवालाई अनलाइनमा पनि सुरक्षित राखौं।

सुरक्षित इन्टरनेट दिवसका उद्देश्यहरू

१. इन्टरनेटको सकारात्मक प्रयोग तथा सुरक्षित इन्टरनेट प्रवर्धन गर्ने

२. बालबालिका तथा युवा वर्गका लागि अनलाइन जोखिमहरू तथा त्यसबाट उनीहरूको सुरक्षाको लागि चेतना अभिवृद्धि गर्ने;

३. बालबालिका तथा युवा वर्गको संलग्नतामा उनीहरूकै लागि काम गर्न विभिन्न संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने;

४. बालबालिका तथा युवा वर्गलाई अनलाइन सुरक्षा प्रदान गर्नका लागि जिम्मेवार व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने ।

नेपालमा आयोजनाका लागि प्रस्तावित कार्यक्रमहरू

१. इन्टरनेटको सुरक्षित र सकारात्मक प्रयोग बढाउन सामाजिक सञ्जालमा सचेतनामूलक पोष्टहरू प्रसार गर्ने

२. अनलाइन यौन दुव्यवहार र शोषणबाट बालबालिकाको सुरक्षाका बारेमा प्रत्यक्ष रेडियो कार्यक्रमहरू उत्पादन र प्रसारण गर्ने

३. बालबालिका र युवाको लागि अनलाइन सुरक्षाबारे पोडकास्टहरू उत्पादन र प्रसार गर्ने

४. “डिजिटल युगमा अभिभावकत्व” शिर्षकमा अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गर्ने

५. नेपालमा अनलाइन घनिष्ठ सम्बन्धमा हुने हिँसासम्बन्धी चाइल्डसेफनेटको अनुसन्धान प्रतिवेदन प्रकाशन गर्ने

६. प्रभावकारी सार्वजनिक व्यक्तित्वहरू सङ्ग सहकार्य गरि अपील भिडियोहरू उत्पादन गर्ने

७. विभिन्न सरोकारवाला समूहहरूले इन्टरनेटलाई सुरक्षित बनाउन प्रयोग गर्न सक्ने सुझावहरू समावेश गरेर छोटा र जानकारीमूलक भिडियोहरू उत्पादन र प्रसार गर्ने

८. प्रभावकारी, सामाजिक कार्यकर्ता, पत्रकार र संस्थाहरूसङ्ग छलफल कार्यक्रमहरू गर्ने

९. आमाबुबा र बालबालिकाका विचारहरु र अनलाइन सुरक्षा सुनिश्चित गर्न उनीहरुको भूमिकाहरुलाई बुझ्न– जान्नका लागी आमाबुबा र बालबालिकासङ्ग छलफलहरु कार्यक्रम सञ्चालन गर्ने

१०. अनलाइनमा हुने हिँसाबारे र सुरक्षित रुपमा इन्टरनेट प्रयोग गर्न पाउने अधिकारबारे युवाहरूसङ्ग गोष्ठी सञ्चालन गर्ने

११. विद्यार्थीहरूका लागि अनलाइन सुरक्षा प्रशिक्षण सञ्चालन गर्ने

१२. स्कूल र कलेजहरूमा अनलाइन सुरक्षा बारे सचेतना कार्यक्रम सञ्चालन गर्ने

१३. विद्यालयहरूसँग सहकार्य गरि इन्टरनेटको सकारात्मक र सुरक्षित प्रयोगमा अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने

१४. इन्टरनेट सेवा प्रदायकहरू, टेक कम्पनीहरू, फिनटेक कम्पनीहरू र अन्य निजी क्षेत्रका नेतृत्वहरू लाई उनीहरूका कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमको रूपमा अनलाइन सुरक्षा समावेश गर्न साझेदारी गर्ने

कहिले ?

सुरक्षित इन्टरनेट दिवस – २०२३ को मुख्य आयोजना सन् २०२३ फेब्रुअरी ७ (वि.सं. २०७९ माघ २४ गते), मंगलबारको दिन हुने भए पनि यस सम्बन्धी गतिविधिहरू वर्षभरि नै सञ्चालन गरिनेछन् ।

कहाँ ?

सुरक्षित इन्टरनेट दिवस मुख्यतयाः अनलाइन, इलेक्ट्रोनिक तथा छापा सञ्चार माध्यममार्फत बालबालिका, युवा वर्ग, अभिभावकहरू तथा अन्य सरोकारवालाहरू एवं जिम्मेवारी व्यक्तिहरूको सहभागितामा राष्ट्रिय स्तरमा मनाइँदै छ । यसका अतिरिक्त विद्यालयहरू, कलेजहरू, स्थानीय सरकारहरू तथा सामाजिक कार्यकर्ताहरूको सहभागितामा काठमाडौँ उपत्यका तथा देशका अन्य भागहरूमा विभिन्न कार्यक्रम तथा क्रियाकलापहरू सञ्चालन गरिनेछ ।

तपाईं कसरी सहभागी बन्न सक्नुहुन्छ ?

सुरक्षित इन्टरनेट दिवस मनाउने अभियानमा सहभागी हुनका लागि बालबालिका, युवा वर्ग, विद्यालयहरू, कलेजहरू, सरकार, प्रहरी, कानुन व्यवसायीहरू, निजी क्षेत्र, इन्टरनेट सेवा प्रदायक संस्थाहरू, राष्ट्रिय/अन्तरराष्ट्रिय संस्थाहरू, सञ्चार माध्यमहरू, सामाजिक व्यक्तित्वहरू तथा विभिन्न जिम्मेवारीवहन गरिरहनुभएका महानुभावहरूलाई हामी आमन्त्रण गर्न चाहन्छौँ ।

तपाईंहरू सामूहिक छलफल, प्रशिक्षण, रमाइला मेलाहरू, सञ्चार क्रियाकलापहरू, हाजिर जवाफ जस्ता चेतना अभिवृद्धिसम्बन्धी विभिन्न क्रियाकलाप आयोजना गर्न सक्नुहुन्छ ।

सरकार, प्रहरी तथा कानुन व्यवसायीहरूले सुरक्षित इन्टरनेट दिवस लाई साइबर सुरक्षा नीतिको कार्यान्वयन तथा कानुनी सुरक्षा सबलीकरणका लागि अवसरका रूपमा उपयोग गर्न सक्नुहुन्छ।

इन्टरनेट सुविधा प्रदायक संस्थाहरू लगायतका निजी क्षेत्रहरू सेवा तथा आर्थिक सहयोग उपलब्ध गराएर संलग्न हुन सक्नुहुन्छ ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाहरूलाई प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउनुका साथै आ–आ–आफ्ना परियोजनाहरूमा साइबर सुरक्षासम्बन्धी चेतना अभिवृद्धिलाई एकीकृत गरेर सहयोग पुर्याउनु हुन अनुरोध गर्दछौं।

चेतना अभिवृद्धिका लागि साइबर सुरक्षासम्बन्धी सन्देशहरू सम्प्रेषण गर्नमा आफ्ना पहुँच तथा प्रभाव उपयोग गर्नका लागि सञ्चार माध्यम तथा सामाजिक रूपमा प्रतिष्ठित व्यक्तित्वहरूलाई अनुरोध गर्दछौं।

यस अतिरिक्त तपाईंहरूले अन्य रोचक क्रियाकलापहरू पनि आयोजना गर्न सक्नुहुन्छ।

easy care

प्रकाशित: १८ माघ २०७९, बुधबार