फोहोरमैला व्यवस्थापन र प्लास्टिक प्रयोग निरुत्साहन गर्न धनगढी उप महानगरपालिकाको टिकटक प्रतियोगिता

Technology Khabar ११ माघ २०७९, बुधबार

फोहोरमैला व्यवस्थापन र प्लास्टिक प्रयोग निरुत्साहन गर्न धनगढी उप महानगरपालिकाको टिकटक प्रतियोगिता

काठमाडौं ।

धनगढी उप-महानगरपालिकाले फोहोर मैला व्यवस्थापन र प्लास्टिकको प्रयोग प्रति निरुत्साहन गर्न टिकटक प्रतियोगिता आयोजना गरिरहेको छ।

उप-महानगरपालिकाले चालु आवको पौष महिनादेखि सुचारु गरिएको टिकटक प्रतियोगिता संचालनको नियममा फेरबदल गरिएको जानकारी दिएको छ।

उप-महानगरपालिकाका मेयर गोपाल हमालकाअनुसार यस प्रतियोगितामा सहभागिता जनाउन चाहने सम्पूर्णले विषय सान्दर्भिक भिडियो बनाई हरेक महिनाको १५ गते भित्र उप-महानगरपालिकालाई उपलब्ध गराउन पर्नेछ र प्रतियोगीले यस उप-महानगरपालिकाको टिकटक आईडी फलो गरेको हुनुपर्नेछ।

नियमअनुसार उप-महानगरपालिकाले सो भिडियो आफ्नो टिकटक पेज, @dsmcnepal, बाट अपलोड गर्नेछ भने तेश्रो सप्ताहदेखि उपलब्ध भएका भिडियो सो महिनाको प्रतियोगितामा सहभागी नगराई, आगामी महिनाको पहिलो सप्ताह भित्र अपलोड गरि प्रतियोगितामा सहभागी गराइने जानकारी दिएको छ।

बिजेता घोषणा गर्दा बढी रुचाईएको भिडियोलाई विजेता घोषणा गर्नुपर्ने हुन्छ। बढी रुचाईएको भिडियो छनौट गर्दा टिकटकमा कति व्यक्तिले सो भिडियो हेरे, लाईक गरे, सेयर गरे र कमेन्ट गरे भन्ने तथ्यांकलाई आधार मान्नु पर्ने उल्लेख छ।

एकपल्ट विजेता भईसकेकाले यस आर्थिक बर्ष भित्र पुनः विजेताको दाबी गर्न पाउने छैनन्  र पुरस्कार दाबी गर्न बिजेता घोषणा भएको ३ दिन भित्र उप-महानगरपालिकामा आई निवेदन, नागरिकताको प्रतिलिपि र चेकको प्रतिलिपि पेश गर्नुपर्ने हुन्छ। साथै, नाबालकको हकमा निजका आमा-बुवा मध्ये एक जनाले निवेदन, नागरिकताको प्रतिलिपि र चेकको प्रतिलिपि पेश गर्नुपर्ने जनाएको छ हुन्छ।

प्रतियोगीले बनाएको भिडियो धनगढी उप-महानगरपालिकाका वातावरण अधिकृत, संचार तथा सूचना प्रविधि अधिकृत र प्रतियोगिता सहजकर्ता असारिका शर्मा पौडेललाई ह्वाट्सएपमार्फत उपलब्ध गराउनु पर्ने र संचार तथा सूचना प्रविधिको इमेल ठेगाना [email protected] मा समेत इमेल गरि भिडियो पठाउनुपर्नेछ।

प्रतियोगीले बनाएको भिडियोको प्रतिलिपि अधिकार भने धनगढी उप-महानगरपालिकामा निहित रहने जनाएको छ।

प्रकाशित: ११ माघ २०७९, बुधबार