अमेजनले भारतमा एयर कार्गो सेवा शुरु गर्दै

Technology Khabar ११ माघ २०७९, बुधबार

अमेजनले भारतमा एयर कार्गो सेवा शुरु गर्दै

काठमाडौं ।

अमेजनले भारतमा आफ्नो नयाँ एयर कार्गो सेवा शुरु गर्ने भएको छ। उक्त घोषणासँगै अमेजनबाट यो सेवा प्राप्त गर्ने भारत एशियाकै पहिलो देश बनेको छ। भारतमा शुरु गरिएको एयर कार्गो सेवा ब्रान्डको नयाँ कोसेढुङ्गा भएको र उक्त सेवाले देशका प्रयोगकर्ताहरूको ढुवानी र ई–कमर्स अनुभवहरुमा थप सुधार ल्याउने अपेक्षा गरिएको बताइएको छ। अमेजन एयर नामाकरण  गरिएको उक्त सेवा चाँडै नै भारतमा  सञ्चालनमा आउने रोयटर्सले उल्लेख गरेको छ।

उक्त एयर कार्गो सेवाका लागि अमेजन एयरले कार्गो क्षमता सहितको दुई ओटा क्विकजेट कार्गो एयरलाइन्स बोइङ ७३७–८०० विमान प्रयोग गर्ने बताएको छ। साथै अमेजनका प्रत्येक विमानले हजारौं पार्सलहरू ढुवानी गर्दै हरेक दिन हैदराबाद, बेंगलुरु, दिल्ली र मुम्बई माथि उडान गर्ने उल्लेख गरिएको छ। त्यसैगरी अमेजन एयरले प्रोडक्ट डेलिभरीमा द्रुत गतिको ढुवानी सुविधा दिने र यसको परिणाम स्वरुप राष्ट्रको ढुवानी र डेलिभरी समय बढ्ने बताइएको छ। उक्त नयाँ कार्गो विमानको स्वागतको लागि अमेजनका वरिष्ठ अधिकारीहरू र तेलंगानाका मन्त्री कल्वाकुन्तला तारका रामा राव हैदराबादमा सहभागी भएका थिए।

अमेजन ग्लोबल एयरका उपाध्यक्ष सारा रोड्सले बढ्दो ग्राहकहरुलाई लक्षित गरी छिटो डेलिभरी प्रदान गर्नको लागि भारतमा अमेजन एयर डेब्यू गर्न पाउँदा उत्साहित भएको बताइन्। अमेजनले आफ्नो डेलिभरी नेटवर्कलाई इन्धन गर्नको लागि भारतको लजिस्टिक पूर्वाधारहरुमा लगानी गरी स्थानीय तहमा रोजगारी बढाउने र नवीन प्रविधिहरूको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अमेजन एयरको सुरुवातसँगै भारतमा १.१ मिलियन अतिरिक्त बिक्रेताहरूलाई सहयोग पुग्ने र यसले शिपिंग र प्याकिङ जस्ता सम्बन्धित उद्योगहरूको विस्तारलाई बढावा दिनेछ।

अमेरिका र युरोप पछि भारत अमेजन एयरको तेस्रो ठूलो बजार हो। सन् २०१६ मा संयुक्त राज्य अमेरिकामा आफ्नो सेवाको सञ्चालन सुरु गरेको अमेजन एयरको हाल ११० भन्दा बढी विमानहरूको नेटवर्कले अहिले विश्वभर ७० स्थानहरूमा सेवा प्रदान गर्दै आइरहेको थप उल्लेख गरिएको छ।

प्रकाशित: ११ माघ २०७९, बुधबार