Technology Khabar ६ माघ २०७९, शुक्रबार
काठमाडौं ।
गत आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) शुल्क तिर्ने टेलिकम कम्पनीहरु मध्येमा एनसेल आजियाटा लिमिटेड अगाडि रहेको छ।
यहि पुस मसान्तसम्म दूरसञ्चार सेवा प्रदायकहरुले तिर्नुपर्ने रोयल्टी तथा आरटिडिएफ रकमको आधारमा एनसेलले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई उछिन्दै सबैभन्दा धेरै रोयल्टी तथा आरटिडिएफ तिरेको टेक्नोलोजीखबरले पाएको प्रारम्भिक तथ्यांकमा देखिएको हो।
सरकारले सम्पूर्ण दूरसञ्चार सेवा प्रदायकहरुसँग रोयल्टी उठाउने गर्दछ भने ग्रामीण दूरसञ्चार विकास कोषको रकम नेपाल दूरसञ्चार प्राधिकरणले असुल गर्ने गरेको छ।
हालै दुई ठूला टेलिकम कम्पनीहरुले बुझाएको तथ्यांकअनुसार गत आर्थिक वर्षको आधारमा एनसेलले १ अर्ब ५८ करोड २ लाख १ हजार ९८१ रुपैयाँ सञ्चार तथा सूचना मन्त्रालयको रोयल्टी खातामा जम्मा गरेको छ।
सरकारी टेलिकम कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले भने सोहि अवधिको वित्तीय बिबरणको आधारमा सरकारलाई १ अर्ब ५० करोड २१ लाख २० हजार ३२६ रुपैयाँ रोयल्टी बुझाएको छ।
यस आधारमा हेर्दा एनसेलले नेपाल टेलिकमको भन्दा ५ करोड रुपैयाँ अधिक रकम रोयल्टीको रुपमा बुझाएको छ।
यसैगरी ग्रामीण दूरसञ्चार विकास कोष(आरटीडीएफ) को रकम बुझाउनेमा पनि एनसेल नै अग्रस्थानमा रहेको छ।
एनसेल आजियाटाले उक्त आर्थिक वर्षको आधारमा दूरसञ्चार प्राधिकरणको आरटीडीएफ खातामा ७९ करोड १ लाख रुपैयाँ रकम बुझाएको छ । सोहि आर्थिक वर्षको आधारमा नेपाल टेलिकमले भने ७५ करोड रुपैयाँ बुझाएको देखिएको छ।
यसैगरी टेलिकमले रोयल्टी मध्येको करिब ४७ करोड पहिले नै जम्मा गरेको भन्दै सो रकम कट्टा गरेर सरकारको खातामा भुक्तानी गरेको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ।
अर्को टेलिकम कम्पनी स्मार्ट टेलिकमले हाल रोयल्टी तथा आरटिडिएफ रकम नतिरेको हुँदा उक्त कम्पनीको खातामा थप दस्तुर सहितको रकम थपिएको छ।
प्राधिकरणका एक अधिकारीकाअनुसार हाल कम्पनीहरुले तिरेको बुझाएको रकमहरुको तथ्यांक आउने क्रम शुरु भएको र अझै केहि समयपछि मात्र पूर्ण तथ्यांक बिबरण भन्न सकिनेछ।
कम्पनीहरुले पुस अन्तिम दिनमा रोयल्टी तथा आरटिडिएफ रकम तिरेको भएपनि उक्त रकमको भर्पाई तथा बिबरण कम्पनीहरुले ढिलो पठाउने हुँदा हाल कम्पनीहरुलाई बिबरण पठाउन ताकेता गरिरहेको प्राधिकरणले जनाएको छ।
प्रकाशित: ६ माघ २०७९, शुक्रबार