Technology Khabar २७ पुष २०७९, बुधबार
काठमाडौं ।
नेपालमा तारमार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या एक करोड नाघेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको असोजको तथ्यांक अनुार अप्टिकल फाइबर (तार) मार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या १ करोड ४ लाख २५ हजार ५१६ छ।
इन्टरनेट सेवा प्रदायक मार्फत इन्टरनेट जडान संख्या २४ लाख १३ हजार ३१४ छ। प्राधिकरणका अनुसार एउटा कनेक्सनबाट औसतमा ४.३२ ग्राहकले इन्टरनेट प्रयोग गर्छन्।
कोभिड १९ को प्रकोपका कारण घरबाटै अनलाइन शिक्षा र काम गर्नु पर्ने अवस्था सिर्जना भएकाले पनि फिक्स्ड इन्टरनेटको प्रयोग बढ्दो क्रममा देखिएको थियो। साथै इन्टरनेट सेवा प्रदायकहरुले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै आक्रामक रुपमा बजार विस्तार गर्दा तार मार्फत इन्टनरेट प्रयोग गर्नेको संख्या निरन्तर बढी रहेको छ।
मोबाइल डाटाको तुलनामा तार इन्टरनेट तुल्नात्मक रुपमा सस्तो हुनुका साथै वाइफाईको मार्फत कम्प्युटर, ल्यापटप, मोबाइल डिभाइस र अन्य इन्टरनेट सपोर्ट गर्ने डिभाइसमा कनेक्ट गरेर परिवारका सबै सदस्यले चलाउन मिल्ने भएकाले पनि यसमा आकर्षण बढिरहेको देखिन्छ।
प्राधिकरणको तथ्यांक अनुसार तारबाट इन्टरनेट सेवा प्रदान गर्ने संस्थाहरु मुलुकभर ५८ ओटा छन्। कम्पनीहरु बीचको तीव्र प्रतिस्पर्धा र सरकारले समेत देशैभर ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने परियोजना सञ्चालन गरेकाले पनि तार इन्टरनको पहुँच बढ्दै गएको छ।
२०७८ को कार्तिकमा तार मार्फत इन्टरनेट चलाउनेको संख्या ७९ लाख ३६ हजार ५४८ थियो। एक वर्षको अवधिमा २४ लाख ८८ हजार ६९८ ले बढेको छ।
वर्ल्डलिंक कम्युनिकेशन ग्राहक संख्याका आधारमा नेपालको सबैभन्दा ठूलो कम्पनी देखिएको छ। वर्ल्डलिंकका ग्राहक २९ लाख ८३ हजार ४०९ छन्।
दोस्रो स्थानमा रहेको नेपाल दूरसञ्चार कम्पनीका ग्राहक १२ लाख ५४ हजार ६३६ छन्।
तेस्रो स्थानमा रहेको भायोनेट कम्युनिकेशनको ग्राहक १० लाख ५७ हजार ९४६ छन्।
चौथो स्थानमा रहेको क्लासिक टेकको ग्राहक १० लाख ५७ हजार ७०८ छन्।
सुबुसी केबलनेट १० लाख ४६ हजार ८७८ ग्राहक सहित पाँचौ स्थानमा छ।
प्रकाशित: २७ पुष २०७९, बुधबार