Technology Khabar १४ पुष २०७९, बिहीबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट(एमडीएमएस) लागू गर्दै पुस १५ गतेदेखि दर्ता नभएका मोबाइल फोनहरु बन्द गर्ने भएको छ। एमडीएमएसमा मोबाइल दर्ताको लागि प्राधिकरणले गत भदौमा नै सूचना जारी गरेर पटक पटक जानकारी गराउँदै आएको छ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले मोबाइल फोन दर्तालाई कडा गरेसँगै प्राधिकरणमा नै फोन दर्ता गराउनेहरुको भिड लागेको छ भने त्यस बारेमा जानकारी माग गर्दै प्राधिकरणका अधिकारीहरुलाई लगातार फोनसमेत आउन थालेको छ।
जसले गर्दा प्राधिकरणका कर्मचारीहरुले फोन नै अफ गर्नुपर्ने बाध्यता भएको गुनासो गरेका छन्।
नाम उल्लेख नगर्ने शर्तमा प्राधिकरणका एक अधिकारीले आफूले आजै (बिहिबार) मात्र १०० कल भन्दा धेरै फोन रिसिभ गरेको बताए।
“एमडीएमएसको बारेमा र दर्ता प्रकृया बारेमा सोधेर फोन तथा एसएमएस आएको आएकै छ सबैलाई अनलाइनमा हेरेर प्रकृया गर्नुस् भनिरहेको छु,” उनले टेक्नोलोजीखबरसँग भने। उनकाअनुसार यस्तो क्रम प्राधिकरणले पछिल्लो सूचना निकालेको दिनपछि जारी छ।
त्यसैगरी अर्का एक अर्का अधिकारीले आफूले पुरै दिन फोन अफ गरेको र अर्को सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता भएको बताए।
उनले फोनमा बिहानैदेखि आएका एसएमएस र फोनहरु देखाउँदै भने, “अनलाइनमा नै हेरेर मोबाइल दर्ता गर्न सकिने भएपनि मानिसहरु हामीले नै भरिदिनुपर्ने भन्दै फोन गर्ने गरेका छन्।”
तर यस विषयमा आधिकारीकरुमा जानकारी लिन खोज्दा प्रवक्ता सन्तोष पौडेलको फोन स्वीच अफ रहेको पाईयो।
फोनमा सोध्नुका साथै मानिसहरु बिगत केहि दिनदेखि प्राधिकरणमा नै धाईरहेको एक कर्मचारीले जानकारी दिए। उनकाअनुसार सेवाग्राहीलाई लाइनमा राखेर क्रमशः एमडीएमएसमा फोन दर्ता गराईरहेको छ।
प्राधिकरणले कार्यालयमा नै एमडीएमएसमा फोन दर्ताका लागि मानिसहरु आउनेक्रम बढेसँगै धमाधम दर्ता समेत गराउँदै गरेको छ। जहाँ सेवाग्राहीहरुको लाम नै लागेको छ।
अष्ट्रेलियाबाट आईफोन प्रो म्याक्स आफन्तले पठाईदिएपछि दर्ता गर्नका लागि प्राधिकरण आएका एक सेवाग्राहीले भने, “आईफोन चलाएपनि के गर्नु ? अनलाइन भर्न नजानेर आएको थिएँ। यहाँ भरिदिनुभयो। अब ढुक्क भईयो।”
त्यसैगरी विदेशबाट ओप्पोको फोन लिएर सिराहाबाट आएकी एक युवतीले भने प्रकृया नै नजानेर प्राधिकरणमा आएको बताईन्।
उनले भनिन्, “मेरो फोन विदेशबाट ल्याएर चलाएको धेरै दिन भईसक्यो। दर्ता नभए बन्द हुन्छ भनेर दर्ता गर्न आएकी हुँ।”
अर्की एक युवतीले फोन विदेशबाट ल्याएको तर प्रज्ञापन पत्र चाहिने भनेपछि त्यस बारेमा बुझ्न आएको बताईन्।
यसका साथै कतिपयले भने दर्ता प्रकृया बुझ्नका लागि प्राधिकरणमा आएको जानकारी दिए।
प्राधिकरणका कर्मचारीहरुले भने आएका सेवाग्राहीसँग आवश्यक कागजात भएको खण्डमा सहजरुपमा दर्ता गरिदिने गरेको बताए।
“यहाँ आईपुगेका सेवाग्राहीहरुलाई किन दुख दिने भनेर दर्ता गरिदिने गरेका छौं। घरबाटै सजिलैसँग अनलाइन दर्ता गर्न सकिन्छ,” एक कर्मचारीले टेक्नोलोजीखबरसँग भने।
उनकाअनुसार अहिलेसम्म व्यक्तिगत फोन दर्ताका लागि आजसम्म प्रज्ञापन पत्र नभएपनि सहजताका लागि लिखित निवेदन लेख्न लगाएर फोन दर्ता गर्ने गरिएको छ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारको निर्णयअनुसार नै एमडीएमएस लागू गरिने र प्राधिकरणले सिस्टम चलाउने बताए।
“हामीलाई सरकारले भनेअनुसार र बजेटमा नै उल्लेख भएअनुसार अवैध र चोरीका फोनहरु रोक्न एमडीएमएस लागू गर्न थालेका हौं। अब १५ गतेदेखि अवैध आयात भएका फोनहरुको दर्ता हुने छैन।” उनले टेक्नोलोजीखबरसँग भने।
उनले एमडीएमएस दर्ताको लागि प्राधिकरणले सेवाग्राहीहरुलाई अधिकतम सहजीकरण गरिरहेको भन्दै प्रकृयागत झन्झट नभएको बताए।
“हामीलाई अर्थ मन्त्रालयले विदेशबाट आएका फोनहरुमा प्रज्ञापन पत्र लिएर मात्र दर्ता गर्न निर्देशन दिएको छ र त्यसअनुसार नै फोन दर्ता प्रकृयाहरु भईरहेको हो। हामीले सरकारको निर्णय मात्र मानेका हौं। अरु हामीले गर्ने होईन्,” अध्यक्ष खनालले थप स्पष्ट पारे।
उनले यसको लागि भन्सार विभाग र अर्थ मन्त्रालयले समेत सेवाग्राहीहरुलाई प्रज्ञापनपत्र दिन सहज वातावरण बनाईदिनुपर्ने बताए।
यस बारेमा थप जानकारीका लागि भन्सार विभागका सूचना अधिकारी महानिर्देशक लगायत अन्य अधिकारीहरुसँग कार्यालयको ल्याण्डलाइन तथा मोबाइलमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन्।
प्रकाशित: १४ पुष २०७९, बिहीबार