वर्ल्डकप लाइभ देखाउने नेपालीहरु माझ लोकप्रिय वेबसाइटमा अमेरिकी प्रतिबन्ध

Technology Khabar १ पुष २०७९, शुक्रबार

वर्ल्डकप लाइभ देखाउने नेपालीहरु माझ लोकप्रिय वेबसाइटमा अमेरिकी प्रतिबन्ध

काठमाडौं ।

फिफा विश्वकप फुटबल २०२२ लाइभ देखाउँदै आएको अनलाइन प्लेटफर्म नाइनगोल डट टिभी (9Goal.tv) का सबै वेबसाइटहरु अमेरिकाले बन्द गरिदिएको छ।

विश्वकप फुटबलको लाइभ निशुल्क हेर्न पाईने भएपछि नेपालीहरु माझ लोकप्रिय भएको नाइनगोल डट टिभीलगायतका सोसँग आबद्ध अन्य वेबसाइटहरुलाई अमेरिकी नियामकले बन्द गरिदिएको हो।

अमेरिकाको होमल्याण्ड सेक्यूरिटी इन्भेष्टिगेसन्सले अमेरिकी कानूनअन्तरगत कपिराइट उल्लंघन गरेको भन्दै वेबसाइटको डोमेन नाम नै सिज गरेको जानकारी दिएको छ।

सो संस्थाका साथै अमेरिकी कपिराइट हेर्ने निकाय र न्याय विभागले वेबसाइटलाई रोकेको उल्लेख छ।

सो साइटले अनधिकृतरुपमा सिनेमा, गेम सफ्टवेयरलगायत उपलब्ध गराएकोमा बन्द गरिएको सूचना राखिएको छ।

यस्तो कार्य गर्ने व्यक्तिले पहिलो पटकमा अमेरिकी कानूनअनुसार ५ वर्षसम्मको जेल सजायका साथसाथै अन्य जरिवाना भोग्न सक्नेछ।

अमेरिकाले नाइनगोलटिभी डट टो,नाइनगोलटिभी डट सीसी र नाइनगोलटिभी डटकम सहित सबै वेबसाइटहरु बन्द गरिदिएको हो।

वर्ल्डकप २०२२ शुरु भएसँगै नेपालमा आधिकारिकरुपमा ५६५ रुपैयाँ तिर्न नसक्ने व्यक्तिहरुले सो वेबसाइटमार्फत निशुल्करुपमा सबै गेमहरु लाइभ हेर्दै आएका थिए।

नेपाललगायत अन्य देशहरुमा समेत उक्त वेबसाइट पछिल्लो समय लोकप्रिय रहेको थियो। वेबसाइटले सबै खेलहरु अनलाइनमा विभिन्न च्यानलहरुमार्फत लाइभ देखाउँदै आएको थियो।

अब भने उक्त वेबसाइटमार्फत विश्वकप फुटबलको फाइनल गेम हेर्न नपाउने भएका छन्।

स्मरण रहोस् यसअघि नेपालको दूरसञ्चार क्षेत्रको नियामकको आदेशसँगै उक्त वेबसाइटसहित अन्य फुटबल लाइभ देखाउने वेबसाइटहरु इन्टरनेट सेवा प्रदायकहरुले बन्द गरिदिएका थिए। तर पछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कन्टेन्ट रोक्ने अधिकार आफूलाई नभएको र कानून नभएको भन्दै बन्द नगर्न भनेको थियो।

easy care

प्रकाशित: १ पुष २०७९, शुक्रबार