विद्युतका नयाँ पोलमा एबीसी केबल स्थानान्तरण

Technology Khabar २८ मंसिर २०७९, बुधबार

विद्युतका नयाँ पोलमा एबीसी केबल स्थानान्तरण
Global IME Bank

काठमाडौं ।

गुल्मीको रेसुङ्गा नगरपालिकाले तम्घास बजारमा विद्युतका नयाँ पोलमा एबीसी केबल स्थानान्तरणको कार्य सुरु गरेको छ। मङ्गलबार तम्घासको पुतलीबजारदेखि विद्युतका नयाँ पोलमा एबीसी केबल स्थानान्तरण सुरु गरिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो।

नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रले अहिले नयाँ पोलमा एबीसी केबल स्थानान्तरण गर्न सुरु गरेको हो। एक हप्ता भित्र सम्पन्न गर्ने गरी बजार क्षेत्रमा गाडिएका नयाँ ५३ वटा विद्युतका पोलमा एबीसी केबल स्थानान्तरण सुरु गरिएको हो।

यस अघि बजार क्षेत्रमा आठ मिटर अग्ला विद्युतका पोल थिए। अहिले पुराना पोललाई  हटाएर ११ मिटर अग्ला स्टिलका पोल गाडिएको छ। सोही पोलमा नयाँ विद्युतका तार स्थानान्तरण गर्न सुरु गरिएको नगर प्रमुख पन्थीले जानकारी दिनुभयो।

यहाँ रहेका नेपाल टेलिकम र विभिन्न नेट–इन्टरनेट कम्पनीले पनि फाइबर तार बिद्युत्तकै पोलमा भुण्डाएर सेवा दिइरहेका छन्। साँघुरो बजार क्षेत्रमा रहेका विद्युतका पोलमा लथालिङ्ग रूपमा झुन्डाइएका टेलिकम, केबुल र नेटका तारका कारण तम्घास बजारको सुन्दरता कुरूप भएको भन्दै व्यवस्थित गर्न लागिएको उहाँले बताउनुभयो।

होचा पोल त्यसै माथि मालवाहक ट्रकहरूले अत्यधिक सामान बोक्ने गर्दा तारमा छुने समस्या समेत हुँदै आएको थियो। साथै, होचा पोलका कारण घरको छतबाट समेत तारलाई सहजै छुने अवस्था भएका कारण करेन्ट लाग्ने जोखिम समेत रहदैं आएको थियो।

विद्युत् प्राधिकरण, नेपाल टेलिकम र नेट इन्टरनेटका सेवा प्रदायक निकाय सबैले अन्तर समन्वयमा टेलिकम, केबुल र नेटका तार व्यवस्थित गर्ने सहमति समेत गरिएको छ। विद्युत्को तार स्थानान्तरण गरे लगत्तै नेपाल टेलिकम तथा विभिन्न केबुल र अन्य नेट-इन्टरनेटका तारहरू व्यवस्थापन गरिनेछ।

उनीहरूसँग संयुक्त रूपमा छलफल गरेर अव्यवस्थित पोलमा झुन्डाइएका तारलाई व्यवस्थित गर्ने सहमति समेत गरिएको थियो। नगरपालिकालाई समृद्ध र सुन्दर बनाउन गैरसरकारी संस्थासँग समन्वय गरेर काम गर्न नगरपालिका तयार रहेको रहेको समेत पन्थीले बताउनुभयो।

Sajilo Visa

प्रकाशित: २८ मंसिर २०७९, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार