Technology Khabar २६ मंसिर २०७९, सोमबार
काठमाडौं ।
प्रेस काउन्सिल नेपालले सञ्चार माध्यमको अनुगमन पत्रकारिता तथा आमसञ्चार अध्ययन गर्दै गरेका विद्यार्थीहरूमार्फत गर्ने भएको छ।
काउन्सिलले ती विद्यार्थीहरूलाई ‘इन्टर्नशीप’मा राखी अनुगमन कार्य गर्ने जानकारी दिएको छ। यसको लागि ५ जना (१ जना आइटीसम्बन्धी) प्रशिक्षार्थी विद्यार्थीहरू (इन्टर्नसीप)मा राखी कार्य गर्ने निर्णय भएको जानकारी दिएको छ।
“विद्यार्थीहरूको अध्ययन तथा काउन्सिलबाट हुने सञ्चार माध्यमको अनुगमन र पत्रकार आचारसंहिता कार्यान्वयन कार्यलाई समेत थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न समयमा पत्रकारिता तथा आमसञ्चार अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई ‘इन्टर्नशीप’मा राखी कार्य गर्दै आइरहेको छ। यसै सिलसिलामा सञ्चार माध्यमको अनुगमन अझ प्रभावकारी बनाउनका लागि थप जनशक्ति लिइ अनुगमन, प्रविधि तथा अभिलेखलगायत शाखाहरूमा विगतमाझैँ ५ जना (१ जना आइटीसम्बन्धी) प्रशिक्षार्थी विद्यार्थीहरू (इन्टर्नसीप)मा राखी कार्य गर्ने,” सूचनामा भनिएको छ।
प्रेस काउन्सिलले पत्रकारिता वा आमसञ्चार विषयमा स्नातक अध्ययन गर्दै गरेका वा सोसरहका इच्छुक प्रशिक्षार्थी विद्यार्थी साथै सूचना प्रविधिमा स्नातक अध्ययन गरिरहेकामध्ये (एक)लाई आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, बायोडाटा र निवेदनसहित ७ दिनभित्र काउन्सिलमा पेस गर्नुहुन निर्णयअनुसार अनुरोध छ। इन्टर्नमा कार्य गर्ने व्यक्तिलाई तोकिएअनुसार खाजा/यातायात खर्च र कार्यअनुभवको प्रमाणपत्र उपलब्ध गराइने जनाएको छ।
सञ्चार माध्यमको अनुगमनलाई प्रभावकारी बनाउँदै लैजाने सिलसिलामा सञ्चार माध्यमको अभिलेखलाई व्यवस्थित गर्ने जमर्कोस्वरूप विगत केही वर्षदेखि टेलिभिजन, रेडियो, अनलाइन तथा पत्रपत्रिकाको अभिलेख प्रणालीलाई सूचना प्रविधिको अधिकतम प्रयोग गरी समयानुकूल, प्रविधिमैत्री बनाउँदै लगेको छ। यसको फलस्वरुप टेलिभिजन अनुगमन, रेडियो अनुगमन प्रणाली, अनलाइन सञ्चार माध्यमको अनुगमन प्रणाली र पत्रपत्रिका व्यवस्थापन प्रणालीको प्रयोग गरी अनुगमन कार्यलाई सहज बनाउँदै लगेको उल्लेख गरेको छ।
प्रकाशित: २६ मंसिर २०७९, सोमबार