१०० लाइन प्रयोग गर्ने संस्थालाई उपयोगी नेपाल टेलिकमको सिप ट्रंक सेवा, जान्नुहोस् यसको बारेमा

Technology Khabar २२ कार्तिक २०७९, मंगलवार

१०० लाइन प्रयोग गर्ने संस्थालाई उपयोगी नेपाल टेलिकमको सिप ट्रंक सेवा, जान्नुहोस् यसको बारेमा

काठमाडौं ।

नेपाल टेलिकमले एउटै टेलिफोन नम्बरमार्फत एकै पटक धेरै सेवाग्राहीले प्रयोग गर्न सकिने गरी सिप ट्रंक (SIP Trunk) सेवा उपलब्ध गराउन थालेको छ। एक पटकमा कमसेकम १०० लाइन प्रयोग गर्ने संस्थाहरुलाई लक्षित गरी यो सेवा उपलब्ध गराइएको हो।

हाल कम्पनीले सरकारी निकाय र कुटनीतिक नियोगहरुलाई यो सुविधा उपलब्ध गराइरहेको छ। लकडाउन शुरु हुनु केही महिना अघिदेखि प्रारम्भ गरिएको यो सेवा हाल नेपाली सेना, अमेरिकी राजदुतावास, विश्व बैंक आदिले प्रयोग गरिरहेका छन् ।

यो सेवा उपयोग गर्ने सेवाग्राहीले कमसेकम १०० वा १०० ले भाग जाने संख्यामा टेलिफोन लाइन लिनुपर्छ।

सेवाग्राहीका कार्यालयमा रहेका ती नम्बरलाई एक्सचेन्जको रुपमा स्थापना गरी नेपाल टेलिकममा अवस्थित प्वाइन्ट अफ इन्टरकनेक्सनबाट ट्रंकमार्फत जोडिन्छ। ती नम्बर सेवाग्राहीले स्वतन्त्ररुपमा आफ्नै प्रयोजनका लागि उपयोग गर्न सक्छन् ।

नेपाल टेलिकमले यसभन्दा पहिले देखिनै न्यूनतम १५ सेसनको सिप पीबीएक्स सेवा उपलब्ध गराइरहेको छ। हाल धेरै संख्यामा टेलिफोन लाइन प्रयोग गर्ने सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखी सिप ट्रंक सेवा ल्याइएको हो।

फाइदा

सिप पीबीएक्स वा सिप टक सेवा प्रयोग गरेमा कसैलाई सम्पर्क नम्बर दिँदा पनि एउटै नम्बर दिए पुग्छ। एउटा कार्यालयका लागि धेरै नम्बर दिनुपर्ने झन्झट हुँदैन।

यो सेवाका लागि आवश्यक उपकरण एउटै फाइबर केबलबाट जोडिएको हुन्छ। एउटै टेलिफोन नम्बरको माध्यमबाट एकै पटकमा धेरै जनाले विभिन्न टेलिफोन सेटबाट कल गर्न तथा रिसिभ गर्न सकिन्छ। टेलिफोन व्यस्त हुने समस्याबाट मुक्ति पाइन्छ भने एउटा मात्र केबल जोडिने भएकाले कार्यालयको सुन्दरता र तार व्यवस्थापनमा समेत सहजता हुन्छ। सिप पीबीएक्स सेवा एउटै भवनमा धेरै टेलिफोन आवश्यक हुने संस्थाहरु, कल सेन्टर, ग्राहक सेवा केन्द्र तथा कर्पोरेट कार्यालयहरुका लागि उपयोगी हुन्छ।

शुल्क

सिप टंक सेवा लिनका लागि शुरुमा ५ सय रुपैयाँ दर्ता शुल्क र ६ हजार रुपैयाँ जडान शल्क लाग्छ । प्रति १०० नम्बरका लागि सरकारी स्वामित्व शल्क ५० हजार रुपैयाँ बुझाउनु पर्छ भने धरौटी वापत लोकल र एसटीडी लाइनका लागि ५० हजार रुपैयाँ तथा आईएसडी सहित लिनु परेमा १ लाख ५० हजार रुपैयाँ राख्नुपर्छ।

यसरी कमसेकम १०० लाइनको सुविधा लिँदा रेन्टल चार्जका रुपमा ५ हजार र न्यूनतम सेसनको रुपमा ६० सेसनको २०० रुपैयाँका दरले १२ हजार रुपैयाँ गरी १७ हजार रुपैयाँ (कर बाहेक) मासिक शुल्क लाग्छ। यो भन्दा बढी सख्याको सुविधा उपयोग गर्ने भएमा त्यही अनसार शुल्क तोकिएको छ।

लिने प्रक्रिया

सिप ट्रंक सेवा लिन चाहने सेवाग्राहीले नेपाल टेलिकमको वेबसाइट अन्तर्गत https://ntc.net.np/post/sip-pbx-service मार्फत आवश्यक जानकारी लिन सकिन्छ। त्यसैगरी यसमा रहेको सेवाको जडान फाराम डाउनलोड गरी तोकिएका विवरण भरी फारममा उल्लेखित कागजात संलग्न गरी काठमाडौँ उपत्यकाको हकमा प्रादेशिक निर्देशनालयमा र काठमाडौं उपत्यका बाहिरको हकमा नजिकको दूरसञ्चार कार्यालयमा वा प्रादेशिक निर्देशनालयमा बुझाउनुपर्छ ।

easy care

प्रकाशित: २२ कार्तिक २०७९, मंगलवार