‘ईभी चढ्नेले बिगतको जस्तो झन्झट महशुस गर्नु पर्दैन’ ईभी एक्स्पोका सभापति अनुपकुमार बराल

Technology Khabar ७ आश्विन २०७९, शुक्रबार

‘ईभी चढ्नेले बिगतको जस्तो झन्झट महशुस गर्नु पर्दैन’ ईभी एक्स्पोका सभापति अनुपकुमार बराल

काठमाडौं ।

नेपालमा पहिलो पटक ‘नाडा ईभी एक्स्पो २०२२’ काठमाडौंको भृकृटी मण्डपमा आयोजना भइरहेको छ। नेपालमा भित्रिएका विद्युतीय सवारी साधानमा प्रयोग भइरहेको प्रविधि र यसको विकास क्रमको बारेमा जानकारी दिन नेपाल अटोमोबाइल्स एसोसिएशन अफ नाडाको आयोजनामा  असोज ६ गतेदेखि ९ गतेसम्म ईभी एक्स्पो सञ्चालन हुनेछ। कोभिड-१९ महामारी, तरलता अभाव र सरकारी नीतिका कारण विगत विगत दुई वर्षदेखि नाडा अटो शो आयोजना हुन सकेको थिएन। अटो शोको विकल्पमा आयोजना गरिएको ईभी एक्स्पोले सवारी प्रति रुची राख्ने ग्राहकलाई आकर्षित गर्न सक्छ कि सक्दैन भन्ने विषयमा नेपाल अटोमोबाइल्स एसोसिएशन अफ नाडाका कार्यकारी सदस्य तथा नाडा ईभी एक्स्पोका सभापती अनुपकुमार बरालसँग गरिएको कुराकानीको सम्पादित अंशः

नेपालको पहिलो नाडा ईभी एक्स्पो कस्तो हुँदैछ?

नेपालमा पहिलो पटक ईभी एक्स्पो आयोजना भइरहेको छ। ईभीका उत्पादन कस्तो होला, के होला भन्ने एक प्रकारको उपभोक्ता तथा नाडाका पदाधिकारिमा फरक किसिमको उत्साह छ। विगतका वर्षमा नाडा एक्स्पोमा डिजेल र पेट्रोलबाट सञ्चालन हुने गाडीहरुको उपस्थिति धेरै हुने गरेको थियो। यो पटक इलेक्ट्रिक सवारी साधनको मात्र सहभागीता छ।

विगतका अटो शोमा पेट्रोलियम तथा डिजेलबाट सञ्चालन हुने सवारी साधन हेर्दै आउनु भएकाहरुका लागि यो पटक विद्युतीय सवारी मार्फत नयाँ स्वाद पस्कँदै छौं। विद्युतीय सवारीको उत्पादन कस्तो हुन्छ र कसरी बनेको भन्ने जानकारी उपभोक्तालाई दिनु नै ईभी एक्स्पोको मुख्य उद्देश्य हो। पछिल्लो समय विश्वमै विद्युतीय सवारी प्रति विश्वसनीयता बढेकाले उत्साहित छौं।

ईभी एक्स्पोमा कुन-कुन ब्राण्डका सवारी साधनहरु छन्?

एक्स्पोमा ८ ओटा, चार पांग्रे, १ ओटा तीन पांग्रे र १८ ब्राण्डका दुई पांग्रे सवारी साधनका स्टल छन्। चार पंग्रेका हकमा विश्वमै नाम चलेका ब्राण्ड छन् भने दुई पांग्रेका हकमा विगत केही वर्षदेखि नेपालमा बिक्री भइरहेका र नयाँ ब्राण्डहरु छन्। दुई पांग्रे ईभी विश्वमा तथा भारतमा सार्वजनिक भएका नयाँ ब्राण्ड पनि प्रदर्शनीमा सहभागी छन्।

नाडा ईभी एक्स्पो २०२२ को सभापतीको रुपमा प्रदर्शनीको संयोजन गरिराख्नु भएको छ। यसबाट कतिको उत्साहित हुनु हुन्छ?

नेपालमा आयोजना भइरहेको पहिलो ईभी एक्स्पोको सभापतीको भूमिका निर्वाह गर्न पाउँदा एकदमै उत्साहित छु। आज सफलता पूर्वक कार्यक्रम उद्घान हुनुका साथै अवलोकनकर्ताको उत्साहजन सहभागिता देखिएको छ। शुक्रबारदेखि अवलोकनकर्ताहरुको संख्यामा उल्लेखनिय रुपमा वृद्धि हुने अपेक्षा गरिएको छ।

कोभिड १९ को महामारी, सरकारी नीति र तरलताको अभावका कारण विगत दुई वर्षदेखि नाडा अटो शो हुन सकिरहेको थियो। नयाँ आयाम, सोच र परिकल्पनामा ईभी शो सञ्चालन गर्ने प्रयास गरेका छौं।

यस पटकको प्रदर्शनमा सवारी तथा पार्टपूर्जाको बारेमा जानकारी दिने बाहेक नाडा चौतारी सेमिनार पनि आयोजना गर्दै हुनु हुन्छ। उक्त सेमिनारबाट विद्युतीय सवारी साधनको प्रवद्र्धन हुनेमा कतिको आशावादी हुनु हुन्छ?

आशावादी छौं, पछिल्लो समय ईभीको आयात बढ्दो छ। कमर्शियल ईभीको आयात पनि बढेको देखिन्छ। भोलिको दिनमा यो अझै बढ्ने छ। विद्यूतीय सवारीको विकसित प्रविधि, यसको प्रयोग, दीर्घकालीन फाइदालगायतका विषयमा जानकारी दिन यूएसएआईडीसँगको सहकार्यमा नाडा चौतारी सेमिनार आयोजना गरिएको हो। सेमिनारमा विद्युतीय सवारी साधनमा चासो राख्ने विज्ञहरुको सहभागीता हुनेछ। उहाँहरुले विद्युतीय सवारीको आवश्यकता, यसका फाइदा, यसमा प्रयोग भएको प्रविधिलगायतका विषयमा अन्तरक्रिया गर्नु हुनेछ। यसबाट ईभीका सम्बन्धमा आमउपभाक्ताले थप जानकारी पाउन पाउनु हुनेछ।

प्राविधिक रुपमा विद्युतीय सवारी अब्बल देखिएका छन्। नेपाल भित्रिएका धेरै ईभी भुगोल सुहाउँदो छन्। ईभीबाटै नेपालभर यात्रा गर्न सकिन्छ भन्ने उपभोक्तामा विश्वास पैदा भइरहेको छ। तर ईभीका केही सीमितता पनि छन्। ईभी प्रति आमउपभोक्ताको एक प्रकारको दुविधा छ। त्यो दुविधालाई चिर्न र त्यसबाट बाहिर ल्याउनका लागि ईभी एक्स्पो महत्वपूर्ण हुनेछ।

नाडा ईभी एक्स्पोमा सहभागी दुई पांग्रे सवारीले नेपालमा दीर्घकालीन सेवा दिन्छन् भन्नेमा ग्राहकहरु कतिको आशावादी हुन सक्छन्?

स्पष्ट रुपमा यसको उत्तर म दिन सक्ने अवस्थामा छैन। यो कुरा दुई विषयमा निर्भर हुन्छ। पहिलो व्यावसायीको इमान्दारीता दोस्रो उत्पादनको गुणस्तरियता। कुनै पनि व्यावसायी बजारमा खराब उत्पादन ल्याउन चाहदैनन्। आफ्नो उत्पादनबाट ग्राहक सन्तुष्ट हुन्छन् भन्ने अध्ययन अनुसन्धान गरेर नै बजारमा ल्याइएको हुन्छ। ग्राहकलाई सन्तुष्टी प्रदान गर्ने उत्पादन ल्याउनु पर्छ भन्ने बोध गरेर मात्र व्यावसायीले उत्पादन ल्याउनु पर्छ। यसका लागि व्यावसायीलाई उत्पादन तथा उत्पादनकर्ताबाट सहयोग हुनु पर्छ। यस्तो सहयोग भएन भने व्यावसायी पलायन हुनु पर्ने अवस्था आउँछ। यसबाट ग्राहकलाई पक्कै पनि दुःख हुनेछ। विगतमा यस्तो प्रकारको समस्या देखिएको थियो। जसले गर्दा पनि आमउपभोक्ताहरु ईभी प्रति सकारात्मक हुन सकिराख्नु भएको छैन्। अहिले एक्स्पोमा राम्रो ब्राण्डहरुको सहभागीता छ। यी ब्राण्डले ईभी चढ्नेलाई विगतको जस्तो झन्झट महशुस गराउँदैनन् भन्ने मेरो विश्वास छ।

ईभी एक्स्पोबाट अवलोकनकर्ताले कस्तो सुविधा पाउँछन्?

ईभी एक्स्पो अवलोकनकर्ताले नेपाली बजारमा उपलब्ध अधिकतम ईभीको जानकारी एउटै साना मुनी प्राप्त गर्न सक्नु हुनेछ। एक्स्पोमा सहभागी दुई, तीन र चार पांग्रे ब्राण्डको प्रविधिको बारेमा कम्पनीका विज्ञबाट जानकारी पाउन सकिन्छ। यसबाट ग्राहकलाई आफू तथा परिवारका लागि उपयुक्त ईभी छनोट गर्न सहज हुन्छ।

साथै फाइनान्सिङका लागि ३ ओटा बैंकहरु पनि प्रदर्शनीमा सहभागी छन्। एक्स्पोमा बुकिङ गर्ने ग्राहकहरुका लागि अन्य बैंकहरुले पनि सहज फाइनान्सिङ गर्ने प्रतिवद्धता जाहेर गरेका छन्। प्रदर्शनीमा सहभागी अवलोकन कर्ताले ईभीको क्षेत्रमा भइरहेको नविन प्रविधिको बारेमा जानकारी पाउनुका साथै ईभीलाई नजिकबाट बुझ्ने अवसर प्राप्त गर्नु हुनेछ।

अर्थमन्त्रीले उद्घाटन सत्रमा अबको गन्तव्य ईभी भएको बताउँदै यसका लागि व्यावसायीलाई तयार रहन आग्रह पनि गरेका छन्? ईभीलाई आत्मसाथ गर्न नाडा तयार छ?

ईभीमा अघि बढ्ने वातावरण बनेको छ। अहिले तत्कालै सम्भव छैन। यो प्रक्रियागत रुपमा हुँदै जान्छ।

प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार