आफ्नै स्याटेलाइटका लागि दूरसञ्चार प्राधिकरणको बजेट

Technology Khabar २७ भाद्र २०७९, सोमबार

आफ्नै स्याटेलाइटका लागि दूरसञ्चार प्राधिकरणको बजेट
सांकेतिक तस्बिर

काठमाडौं ।

आफ्नै स्याटेलाइटका लागि नेपाल दूरसञ्चार प्राधिकरण अघि बढेको छ। नेपालमा भू–उपग्रह भनेर चिनिने स्याटेलाइट निर्माणका चालु आर्थिक वर्षमा प्राधिकरणले २० करोड रूपैयाँ बजेट छुट्टाएको जनाएको छ।

चालु आर्थिक वर्षमा स्याटेलाइट स्थापना, सञ्चालन र व्यवस्थापनसम्बन्धी काम गर्नका लागि २० करोड रूपैयाँ सहित परामर्शदाता समेत नियुक्त गरेको प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए।

उनले टेक्नोलोजिखबरसँग कुरा गर्दै भने, “प्राधिकरणले टर्कस्याटलाई परामर्शको जिम्मा दिएको र यहि वर्षभित्र उसको प्रतिवेदन आउने र अन्तरिक्षमा आफ्नै स्याटेलाइट प्रक्षेपण गर्ने नीति रहेको छ, त्यसअनुसार अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव पेस गरेकाले आशामा छौं।”

१ करोड ४० लाख डलरमा परामर्शको जिम्मा पाएको टर्कस्याटले स्याटेलाइटको सम्भाव्यता अध्ययनमा अहिलेको अर्बिटको अवस्था, त्यसमा स्याटेलाइट राख्दा सिर्जना हुने अवसर र त्यसबाट नेपालले लिनसक्ने लाभका बारेमा प्रतिवेदन आउने प्राधिकरणले जनाएको छ।

अध्ययन प्रतिवेदनमा संसारभरका अभ्यासमा नेपालको स्याटेलाइटको व्यावसायिक आधार र विकल्प सिफारिस हुने अपेक्षा पनि प्राधिकरणले गरेको छ।

टर्कस्याटको अध्ययन प्रतिवेदनपछि नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइट खरिद तथा जडानका लागि खरिद योजना तथा दस्तावेज बनाउनुका साथै प्राविधिक तथा ग्राउन्ड स्पेसिफिकेसनसँगै स्याटेलाइट खरिद तथा जडानका लागि अघि बढ्ने छ।

२०७९ भित्र आफ्नै स्याटेलाइट सञ्चालमा ल्याउने गरी सरकारले २०७७ को भदौमा स्याटेलाइट नीति सार्वजनिक गरेको थियो।

easy care

प्रकाशित: २७ भाद्र २०७९, सोमबार