Technology Khabar १५ भाद्र २०७९, बुधबार
काठमाडौं ।
सीजी कम्युनिकेसन्स लिमिटेडले हालै सार्वजनिक गरेको सीजीनेट अन्तरगतको बण्डलिङ सेवा नै गैरकानूनी भएको भन्दै नियमनकारी निकायमा उजुरीसहित कारबाहीको लागि माग गरिएको छ।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणसँग सीजी नेटले गरेको गैरकानूनी र निर्देशन विपरितको कार्यमा कारबाही गर्न माग गरेको हो।
यहि आइतबार इन्टरनेट सेवा प्रदायक सीजीनेटले इन्टरनेट सेवासहित आईपिटिभी र टेलिभिजन सेटसहित बण्डलिङ सेवा ‘जोडि’ अफर सार्वजनिक गरेको थियो । कम्पनीले आईपिटिभी सेवा शुरु गरेसँगै ग्राहकहरुका लागि बण्डलिङ्ग सेवा ल्याएको जानकारी दिएको छ।
तर सो बण्डलिङ्ग सेवा प्राधिकरणले यसअघि सबै इन्टरनेट सेवा प्रदायकहरुलाई दिएको निर्देशन विपरित भएको भन्दै त्यसलाई रोक लगाउन र सीजीनेटलाई कारबाही गर्न माग गर्दै निवेदन परेको प्राधिकरण स्रोतले जानकारी दिएको छ।
स्रोतकाअनुसार सो बारेमा बुधबार कार्यालय खुलेसँगै इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले उजुरी निवेदन दिएको हो। आइस्पानमा नै सो बारेमा अन्य सेवा प्रदायकहरुले उजुरी गरेपछि आइस्पानले नियामक निकायलाई त्यस बारेमा जानकारी दिँदै कारबाही गर्न आग्रह गरेको बताईएको छ।
“सीजीनेटलाई कारबाहीको माग गरेर हाम्रोमा निवेदन दर्ता भएको छ। तर पत्रमा के छ थाहा छैन्,” स्रोतले भन्यो।
टेक्नोलोजीखबरले स्रोतमार्फत पाएको आइस्पानको सो उजुरी पत्रमा सीजी नेटले गरेको “विज्ञापन, इन्टरनेट र टिभीको बण्डलिङ सहितको प्याकेज बारेमा उल्लेख गरिएको छ। सो विषयमा इन्टरनेट इकोसिस्टम, बजार, उद्योगको स्थाईत्व, मूल्यलगायतका अति संवेदनशिल र गंभिर विषयहरुमा प्राधिकरणले तत्काल आवश्यक कार्य गर्नुपर्ने” भनिएको छ।
पत्रमा अन्य इन्टरनेट सेवा प्रदायकको उजुरी र गुनासो आइस्पानमा आएको र सीजी नेटको गतिबिधिका कारण अन्यौल भएको भन्दै प्रश्न उब्जिएको जानकारी दिईएको छ।
सो पत्रमा यसअघि प्राधिकरणले सबै सेवा प्रदायकहरुलाई सहभागी गराएर गरेको बैठक र ट्यारिफ स्वीकृति, स्वच्छ बजार मूल्य लगायतका निर्णय गरिएको उल्लेख छ।
यसका साथै आइस्पानले आफ्ना सदस्य र सेवा प्रदायकहरुलाई भदौ १५ गतेदेखि सो निर्देशनहरु पूर्ण पालना गराउने जानकारी समेत दिएको छ। पत्रमा बण्डलिङ र बिलिङ्गलगायतका प्राधिकरणले दिएको निर्देशनलाई पालना गराउन पूर्ण मद्दत गर्ने प्रतिबद्दता समेत जाहेर गरेको छ।
“इन्टरनेट क्षेत्र उद्योग गुणस्तरीय इन्टरनेट सेवा स्वच्छ बजार प्रतिस्पर्धा कायम गर्न र उल्लेखित सम्पूर्ण समस्याको हल गर्नका लागि समेत सीजीनेट माथि आवश्यक कारबाही गर्न जरुरी छ। नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन हुँदाहुँदै सीजीनेटले गरेको क्रियाकलापलगायतका कुरा त्यहाँ प्राधिकरणलाई जानकारी गराउँदै हाम्रो संघ तत्कालै कडा कारबाहीका लागि अनुरोध गर्दछ,” पत्रमा भनिएको छ।
यसअघि सीजीनेटको बण्डलिङमा सेवा दूरसञ्चार प्राधिकरणले सबै सेवा प्रदायकहरुलाई दिएको निर्देशन विपरितको भएको भन्दै कारबाहीको प्रकृया शुरु गरेको विषय सार्वजनिक भएको थियो।
प्राधिकरणले यस बारेमा कम्पनीलाई सोमबार नै पत्र पठाएर जानकारी माग गरेको एक अधिकारीले टेक्नोलोजीखबरलाई बताएका छन्।
सम्बन्धित समाचार-
सीजीनेटले सार्वजनिक गरेको बण्डलिङ अफर नै गैरकानूनी, छानबिन गर्दै दूरसञ्चार प्राधिकरण
प्राधिकरणले २०४९ साउन २५ गते सबै इन्टरनेट सेवा प्रदायकहरुलाई प्रमुखरुपमा ३ बुँदे निर्देशन दिँदै बण्डलिङ सेवा नदिन निर्देशन दिएको थियो। त्यसबेला सेवा प्रदायकहरुले गरिरहेको बण्डलिङ सेवाहरु सबै गैरकानूनी हुने र त्यस्ता सेवाहरु तत्काल बन्द गर्न समेत निर्देशनमा भनिएको थियो।
यसका साथै आगामी दिनमा त्यस्ता बण्डलिङ सेवाहरु नदिन समेत भनिएको थियो। प्राधिकरणले सो कार्य अनुमति पत्रको शर्त विपरित हुने भन्दै त्यसमा रोक लगाएको थियो।
सम्बन्धित समाचार-
इन्टरनेट सेवा प्रदायकले संचालन गरिरहेका सबै बण्डलिङ सेवाहरु गैरकानूनी, तत्काल बन्द गर्न निर्देशन
प्रकाशित: १५ भाद्र २०७९, बुधबार