
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमको फाइभजी उपकरणहरुको आयातको लागि सिफारिस पत्र दिएको छ। टेलिकमले नेपालका ७ स्थानहरुमा गर्ने भनेको ५जी सेवाको परीक्षणको लागि आवश्यक पर्ने उपकरणहरु चीनबाट आयात गर्दैछ।
फोरजी सेवाको रोलआउटको टेण्डरसँगै राखिएको सम्झौता शर्तअनुसार कम्पनीले नेपाल टेलिकमको लागि ५जी सेवाको परीक्षण निशुल्क गरिदिन लागेको हो। जसको लागि कम्पनीले उपकरणहरु आयात गरिरहेको छ।
सो सामान आयातको लागि आवश्यक पर्ने उपकरण आयात सिफारिस पत्र नियमनकारी निकायले गत बिहिबार नै टेलिकमलाई दिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए।
“हामीसँग सिफारिस पत्र मागेको थियो र सो पत्र गत साता नै पठाईसकेका छौं,” ती अधिकारीले भने, “कम्पनीले करीब ५ लाख डलर मूल्य बराबरको सामाग्री आयात गर्न लागेको छ।”
उक्त उपकरणहरु टेण्डर कम्पनीले नै बेहोर्ने हुँदा त्यसमा टेलिकमको अतिरिक्त शुल्क नलाग्ने बताईएको छ।
सम्झौताअनुसार टेलिकमले यसअघि विभिन्न ४ स्थानमा फाइभजीको परीक्षण गर्ने तयारी गरेको थियो। तर थप ३ स्थानहरुमा ४जी बिस्तारको टेण्डर पाएको एक कम्पनी जेटिईले टेलिकमलाई निशुल्क फाइभजी परीक्षण गरिदिने भएको यसअघि टेलिकमका एक उच्च अधिकारीले जानकारी दिएका थिए।
यसअघि काठमाडौं, विराटनगर, पोखरा र नेपालगंज शहरमा ५जी परीक्षण गर्ने तयारी भएकोमा अब भने सातै प्रदेशका एक एक शहरहरुमा परीक्षण गर्ने योजना रहेको छ।
उता टेलिकमका एक अधिकारीले भने उपकरण आउन अझै समय लाग्ने देखिएको र परीक्षण दशैं भन्दा अगाडि नहुने बताएका छन्। “भदौको अन्त्यमा सामान आएपनि दशैं अगाडि ५जी परीक्षण गर्न कठिन छ,” उनले दाबी गरे।
तर कम्पनीले भने आम निर्वाचन अगाडि नै परीक्षण गर्नसक्ने बताईएको छ।
यसअघि सो बारेमा जानकार एक स्रोतले भने चुनाव अघि परीक्षण गर्नेगरी सामानहरु आईपुग्ने जानकारी टेक्नोलोजीखबरलाई असारमा नै दिएको थियो।
“सरकारले पनि चुनावमा प्रचार गर्न देशमा ५जी प्रविधि ल्याएको भन्दै त्यसको फाइदा लिनसक्ने हुँदा त्यसैअनुसार काम हुनेछ,” स्रोतले भनेको थियो, “दशैंको आसपासमा परीक्षण हुने संभावना छ।”
स्रोतकाअनुसार उपकरणहरु ल्याउन खासै समय नलाग्ने भएपनि नेपालको लागि भनेर उपकरण बनाउनुपर्ने हुँदा केहि ढिलो भएको हो।
प्रकाशित: ६ भाद्र २०७९, सोमबार