Technology Khabar ६ भाद्र २०७९, सोमबार
काठमाडौं ।
मुगुमा अलपत्र पारिएका टेलिकमका टावर दसैँभित्र निर्माण गर्न व्यवसायीलाई जनप्रतिनिधिले निर्देशन दिएका छन्।
मुगुको सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा तीन वर्षदेखि अलपत्र अवस्थामा रहेका छन्।
त्यसैले नेपाल टेलिकमका टावर समयमै निर्माणका लागि निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन्।
सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाही तथा खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले विभिन्न स्थानमा अलपत्र छाडिएका टावरको समयमै निर्माण गर्न ठेकेदारलाई निर्देशन दिएको नागरिक बडापत्रमा गाउँपालिकाले उल्लेख गरेको छ।
सोरु गाउँपालिकाको नार्थपु लामाकाडा र कच्चेकोट खत्याड गाउँपालिकाको कोटडाँडा, जिउका, नखर्जी रुतु र खमाले मा निर्माणाधीन टावर अलपत्र अवस्थामा छन्।
यस्तै छायाँनाथ रारा नगरपालिकाको रुगा थार्पलेकमा निमार्णाधीन अवस्थामै अलपत्र परेका फोरजी टेलिकम टावरको काम सम्पन्न गर्न अध्यक्ष र उपाध्यक्षले ठेकेदार कुमार पौडेललाई भेटेर निर्देशन दिएका हुन्।
टेलिकमका टावर निर्माणको लागि स्मार्ट जलजला जेभी कम्पनीले २०७६ सालमा नेपाल टेलिकमसँग सम्झौता गरेको थियो। तर यो कम्पनीले विभिन्न बहानामा समयमै काम नगरी अलपत्र छाडेको छ।
जसले गर्दा मोबाइल, फोनका साथै इन्टरनेट चलाउन नपाउँदा सर्वसाधारण र सरकारी निकायमा असर परेको छ।
प्रकाशित: ६ भाद्र २०७९, सोमबार