नेपाली ‘डिजिटल करेन्सी’को अवधारणा एक महिनामा आउने

Technology Khabar २५ श्रावण २०७९, बुधबार

नेपाली ‘डिजिटल करेन्सी’को अवधारणा एक महिनामा आउने

काठमाडौं ।

– निर्दोष घोरसाइने

नेपाल राष्ट्र बैंकले ‘डिजिटल करेन्सी’को अवधारणाको प्रारम्भिक दस्तावेज तयार गरेको छ। राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले डिजिटल करेन्सीको अवधारणा तयार भएको जानकारी दिए।

विश्वमा विद्युतीय मुद्राको प्रयोग तथा सम्भाव्यता अध्ययन भईरहेको सन्दर्भमा नेपालमा समेत केन्द्रीय बैंक विद्युतीय मुद्रा (Central Bank Digital Currency) को सम्भाव्यता अध्ययन गर्ने भनेर आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा नै उल्लेख गरेको थियो। सोहीअनुसार केन्द्रीय बैंकले हाल अध्ययन गरिरहेको छ।

मौद्रिक नीतिको व्यवस्थाअनुसार राष्ट्र बैंकले २०७८ चैतमा मुद्रा व्यवस्थापन विभागका निर्देशक अनुज दाहालको संयोजकत्वमा ६ सदस्यिय केन्द्रीय बैंक विद्युतीय मुद्राको सम्भाव्यता अध्ययन शुरु गरेको थियो।

अध्ययन समितिले करिब ४ महिनाको अवधिमा डिजिटल करेन्सीको अवधारणा नोट तयार गरी मुद्रा व्यवस्थापन विभागमा पेश गरेको हो।

‘डिजिटल करेन्सीको अवधारणा नोट विभागमा हस्तान्तरण भइसकेको छ। अवधारणा नोट विभागीय छलफलकै क्रममा छ। विभागको आन्तरिक छलफलबाट अवधारणा नोटलाई पूर्णता दिइनेछ,’ कार्यकारी निर्देशक नेपालले टेक्नोलोजीखबरसँग भने, ‘छलफल पूरा भएपछि आन्तरिक दस्तावेजको रुपमा वेबसाइटमा नै राख्ने छौं।’

एक महिना भित्रमा अवधारणा नोटलाई पूर्णता दिएर राष्ट्र बैंकको वेबसाइटमा राखिने र त्यसबाटै सार्वजनिकरुपमा सुझाब समेत मागिने तयारी छ।

डिजिटल करेन्सी र क्रिप्टोकरेन्सीमा फरक

पछिल्लो समय क्रिप्टोकरेन्सी र डिजिटल करेन्सीको चर्चा व्यापक रुपमा भइरहेको छ। धेरैले क्रिप्टोकरेन्सी र डिजिटल करेन्सी एउटै भएको पनि बुझ्ने गरेका छन्। तर, यर्थाथमा यी दुई करेन्सीमा धेरै भिन्नता छ।

क्रिप्टोकरेन्सी इन्टरनेटको माध्यमबाट जेनरेट गर्न सकिन्छ भने डिजिटल करेन्सी केन्द्रीय बैंकको अधिनमा रहेर मात्र उत्पादन गर्न पाउँछन्।

नेपालमा क्रिप्टोकरेन्सीको कारोबारमा प्रतिबन्ध गरिएको छ भने डिजिटल करेन्सी प्रयोगमा ल्याउनका लागि राष्ट्र बैंकले सम्भाव्यता अध्ययन अघि बढाएको छ।

सम्बन्धित देशका केन्द्रिय बैंकले जारी गर्ने विद्युतीय मुद्रालाई अन्तर्राष्ट्रिय मौद्रिक जगतले ’सीबीडीई’ नामाकरण गरेको छ। जसको अर्थ वा पूरा नाम ’सेन्ट्रल बैंक डिजिटल करेन्सी’ हो। यद्यपि, अहिलेसम्म बहामासले ‘साण्ड डलर’ नाममा (अक्टोबर २०२०) र इस्टर्न क्यारेवियन सेन्ट्रल बैंकले ’डी–क्यास’ नाममा (अप्रिल २०२१) सीबीडीसी जारी गरेका छन्। यीबाहेक संसारका अन्य कुनैपनि देशले सीडीबीसी प्रचलनमा ल्याइसकेका छैनन्।

छिमेकी मुलुक भारतले पनि बजेट मार्फत् सन् २०२३ मा आफ्नै डिजिटल करेन्सी ल्याउने घोषणा गरेको छ।

अर्को छिमेकी मुलुक चीनले डिजिटल करेन्सीको परीक्षण प्रयोग शुरु गरिसकेको छ। चीनको केन्द्रिय बैंक ’पिपल्स बैंक अफ चाइना’ (पीबीसी)ले सन् २०२० को अप्रिलमा चार शहर सेनजेन, सुझोउ, चेङ्ग्दु र निओङमा ’ई–सीएनवाई’ नामक सीबीडीसी परीक्षणका रूपमा जारी गरेको थियो।

डिजिटल करेन्सी सम्बन्धित मुलुकको केन्द्रीय बैंकले जारी गर्ने हुँदा यसको मूल्य निश्चित हुन्छ र धेरै उतारचढाव तथा जोखिम हुँदैन। डिजिटल करेन्सी सम्बन्धित मुलुकको नियन्त्रणमा हुन्छ।

तर क्रिप्टोकरेन्सीको मूल्यमा छोटो समयमा ठूलो उतारचढाव आउने हुँदा यसमा उच्च जोखिम रहन्छ। क्रिप्टोकरेन्सी कुनै पनि मुलुकको नियमक निकायको नियन्त्रणमा रहेको छैन र यो ब्लकचेनमा आधारित हुने गर्दछ।

जसका कारण क्रिप्टोकरेन्सी गैरकानुनी कारोबार प्रयोग हुँदै आएको भनेर धेरै देशमा प्रतिबन्धसमेत गरिएको छ।

नेपालमा डिजिटल करेन्सीको अवधारणा नोट मात्र तयार भएकाले डिजिटल करेन्सी कस्तो हुन्छ भन्ने थाहा पाउनका लागि केही समय पर्खनुपर्ने देखिन्छ।

easy care

प्रकाशित: २५ श्रावण २०७९, बुधबार