Technology Khabar १९ श्रावण २०७९, बिहीबार
काठमाडौं ।
निर्वाचन आयोगले अनलाइनबाट मतदाता नामावली फाराम भरेकाहरूको हकमा नामावली दर्ता गराउने म्याद थप गरेको छ।
सरकारले आगामी मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ।
सरकारको उक्त निर्णय पश्चात आयोग आज बिहिबार आयोजना गरेको पत्रकार सम्मेलन मार्फत अनलाइन फाराम भरेकाका हकमा पर्सि शनिबार साउन २१ गते साँझ ५ बजेसम्म म्याद थप गरेको जानकारी दिएको छ।
भौतिक उपस्थितीका आधारमा दर्ता गरिने मतदाता नामावली भने स्थगित गरिएको छ।
निर्वाचन आयोगले अनलाइनबाट फाराम भरेकाको हकमा भने साउन २१ गते शनिबारसम्मका लागि थप म्याद उपलब्ध गराएको छ।
मतदाता नामावली संकलनका लागि अनलाइन फाराम भरी औंठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएको व्यक्तिहरुको हकमा साउन २१ गतेसम्म औंठाछाप र फोटो लिने व्यवस्था गरिएको छ।
मतदाता नामावलीको लागि अनलाइन फारम भर्दा तोकिएको औंठा छाप र फोटो खिच्ने स्थानमा सर्वधारण पुग्नुपर्ने हुन्छ। नाम दर्ता गर्न जादा अनलाइनमा भरेको फारामको प्रिन्ट एक कपी, नागरिकता १ प्रति फोटोकपी र सक्कल नागरिकता समेत साथमा लानुपर्छ ।
पर्सि साउन २१ गते शनिबारका दिन साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन कार्यालयमा पुग्नुपर्नेछ। दर्ता बाफत शुल्क नलाग्ने निर्वाचन आयोगले जनाएको छ।
यसैबिच आयोगले भोली शुक्रबारदेखि नै निर्वाचन प्रक्रिया शुरु हुने जानकारी दिएको छ।
सामान्य रुपमा निर्वाचनका लागि आयोगलाई १२० दिन आवश्यक हुने भएपनि मंसिर ४ सम्म १०७ दिन मात्रै उपलब्ध भएकाले तत्काल प्रक्रिया शुरु हुनेछ।
प्रकाशित: १९ श्रावण २०७९, बिहीबार