Technology Khabar ९ असार २०७९, बिहीबार
काठमाडौं ।
लघु, साना तथा मझौला व्यवसायीलक्षित नेपालको पहिलो ई-कमर्स साइट एमएसएमईनेपाल डट कम (www.msmenepal.com) आज बिहिबार अनावरण गरिएको छ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा काठमाडौंमा एक कार्यक्रमबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले ल्यापटपमा क्लिक गरेर उक्त ई-कमर्स साईटको औपचारिक अनावरण गरेका हुन्।
यसको नारा ‘खोजौं नेपाली, रोजौं नेपाली’ रहेको छ।
अनावरण कार्यक्रममा बोल्दै मन्त्री बडुले लघु, साना तथा मझौला व्यवसायीहरु ई-कमर्समा जानु सबैका लागि खुशीको कुरा भएको बताए।
व्यापार घाटा घटाउन र देशको अर्थातन्तर मजबुत बनाउनका लागि निर्यात बढाउनु पर्ने अवस्था रहेकोमा यो ई-कमर्स साइट एउटा कोशेढुंगा सावित हुने उनले बताए।
“ई–कमर्समार्फत स्वदेशी बस्तुको प्रवद्र्धन र बजारीकरणका लागि सहज हुनेछ। यो क्षेत्रका लागि नयाँ अभ्यास हो । तपाइँहरुको यो प्रयासमा सरकारको साथ रहीरहनेछ,” उनले भने।
आधारभूत उत्पादन हुने भएकाले घरेलु तथा साना र मझौला उद्योग स्वदेशमा उत्पादन तथा निर्यात बढाएर आयात प्रतिस्थापन गर्ने सरकारको अभियानको मेरुदण्ड भएको उनको भनाइ थियो।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले कोभिड १९ ले गर्दा यस्ता उत्पादनहरुको बजार विस्तार गर्न नसकिएको भन्दै महामारीले सिकाएको पाठलाई दृष्टिगत गर्दै लघु, घरेलु तथा साना उद्यमीहरुका उत्पादनहरुलाई डिजीटल प्रविधिमार्फत बजार प्रबर्द्धन गरी बजार सञ्जाल विस्तार गर्ने उद्देश्यले लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको भर्चुअल प्रदर्शनी र ट्रेड सोमार्फत डिजीटल प्रणालीबाट बजार विस्तार गरी वस्तुको बिक्री वितरण प्रणालीको विकास गराउने लक्ष्यका साथ यो अवधारणा आएको बताए।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ११ महिनामा १५ खर्ब ७६ अर्ब रुपैयाँ व्यापार घाटा देखिएको उल्लेख गर्दै स्वदेशमा उत्पादन र निर्यात बढाएर आयात व्यवस्थापन नगरिए भविष्यमा मुलुक संकटमा पर्न सक्ने विचार व्यक्त गरे।
उनले आयात घटाउन र स्वदेशी उद्योग चलायमान बनाउन सरकार तर्फबाट हुनुपर्ने सहयोगका लागि मन्त्रीसमक्ष आग्रह पनि गरे।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले हामीले आयतबाट मात्र अर्थतन्त्र चलाएका र रेमिटेन्सका सबै स्रोतलाई आयातमा मात्र खर्च गरेका र उत्पादनमा खर्च गर्न नसकेकोले तरलताको समस्या सधैं यथावत् रहेको बताए।
उक्त ईकमर्स साइटमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सामानहरुलाई स्थानीयदेखि अन्तराष्ट्रिय बजारसम्म खरिद र बिक्री गरिन्छ। ईकमर्स साइट सञ्चालनमा आएलगत्तै गरिएको खरिदबिक्री डेमोमा पाँच लाख रुपियाँ बराबरको कारोबार भएको महासंघले जनाएको छ।
प्रकाशित: ९ असार २०७९, बिहीबार