Technology Khabar १९ जेष्ठ २०७९, बिहीबार
काठमाडौं ।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले आगामी असार १२ गतेदेखि १४ गतेसम्म ९ औं राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन आयोजना गर्ने भएको छ।
३ दिने सम्मेलन ललितपुरको खुमलटारस्थित नास्टको नवनिर्मित भवनको सभा हलमा आयोजना हुनेछ।
‘साइन्स फर सोसाइटी एण्ड इनोभेसन फर प्रस्पेरिटी’ भन्ने मुल नारासहित सम्मेलन आयोजना गर्न लागिएको सम्मेलन प्रबर्द्धक प्रमुख लुना बज्रले जानकारी दिइन्।
राष्ट्रिय सम्मेलन भएकाले स्वदेशीलाई नै पहिलो प्राथमिकता दिइने बताईएको छ।
प्रतिष्ठानले प्रत्येक ४ वर्षमा वैज्ञानिक बहसका लागि सन् १९८८ देखि विज्ञान सम्मेलन आयोजना गर्दै आइरहेको छ।
विगतका सम्मेलनले विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभिन्न विषय वस्तुहरु खोज गर्न सहयोग गरेको छ। सम्मेलनबाट प्राप्त निचोडलाई लिएर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको बज्रले बताइन्।
‘राष्ट्रको समृद्धिका लागि प्रविधि र नवप्रवर्तनको भूमिका महत्वपूर्ण हुन्छ,’ उनले भनिन्, ‘समाजलाई विज्ञान तथा नवप्रवर्तनबाट जोड्न सम्मेलन आयोजना गर्न लागिएको हो।’
विज्ञहरु, व्यवसायी, शिक्षाविद्, अनुसन्धानकर्ता, प्रतिष्ठित वैज्ञानिक, प्राविधिकहरु, नीति निर्माता र वैज्ञानिक समुदायहरुलाई एकसाथ उभ्याउने सम्मेलनले उद्देश्य राखेको छ।
यसले विशेष गरी विज्ञान तथा प्रविधिका क्षेत्रमा सहभागी तथा रुचि भएकाहरुलाई सम्मेलनमा सहभागी गराई उनीहरुको अनुसन्धानको उपलब्धि आदानप्रदान गर्न प्रोत्साहित गरिनेछ।
यो राष्ट्रिय सम्मेलन भएपनि सार्क र अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायहरुलाई पनि सहभागी हुनका लागि खुला गरिएको छ।
विगतको तुलनामा यो पटकको सम्मेलनमा केही नयाँपन दिन खोजिएको उनले बताइन्।
‘विगतमा शीर्षक मात्र राख्ने गरिन्थ्यो। यस पटक थिमसँग सम्बन्धित ‘थिमेटिक एरिया’ राखेका छौं,’ उनले भनिन्, ‘सम्बन्धित शीर्षकले थिमलाई, समाजलाई र नवप्रवर्तनलाई कस्तो योगदान गर्छ भन्ने विषय पहिचान गर्न खोजेका छौं।’
उक्त शीर्षक एउटा अनुसन्धान मात्र नभएर समाज र मुलुकको समृद्धिलाई कसरी सघाउ पुर्याउँछ भनेर पनि हेरिनेछ।
३ दिने सम्मेलनलाई ३ खण्डमा विभाजन गरि आयोजना गरिनेछ। उद्घाटन, प्राविधिक सत्र र समापन सत्र। उद्घाटन सत्रमा ‘कीनोट’ प्रस्तुत गरिनेछ। यसको पूर्ण व्याख्या पनि गरिनेछ। प्राविधिक सत्रमा विशेष व्याख्यान, मौखिक र पोस्टर प्रस्तुतीकरण हुनेछ।
सम्मेलनमा सहभागी हुन चाहनेले सम्मेलनको वेबसाइटमा उपलब्ध अनलाइन फारम भर्नुपर्ने हुन्छ।
सम्मेलनमा सहभागी हुनका लागि न्युनतम २ हजार रुपैयाँदेखि अधिकतम ८० अमेरिकी डलर शुल्क तोकिएको छ।
प्रकाशित: १९ जेष्ठ २०७९, बिहीबार