Technology Khabar १२ जेष्ठ २०७९, बिहीबार
काठमाडौं ।
सरकारले यहि जेठ ११ गते आगामी आर्थिक वर्ष २०७९/८० को लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।
उक्त नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकबाट सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका लागि बजेट ल्याउने घोषणा गरिन्।
प्रस्तुत नीति तथा कार्यक्रममा स्टार्टअपलाई प्रबर्द्धन गर्ने, सबै सरकारी कारोबार डिजिटल माध्यमबाट गरिनेलगायत समावेश गरिएको छ।
यी हुन् नीति तथा कार्यक्रममा समेटिएका सूचना प्रविधि क्षेत्रका समग्र योजनाहरु:
स्टार्टअपलाई प्रबर्द्धन गर्ने
सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्टार्टअपलाई प्रबर्द्धन गर्ने नीति लिने भएको छ।
सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को लागि सरकारको नीति तथा कार्यक्रम आज संसदको संयुक्त बैठकबाट सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्टार्टअपमैत्री बजेट ल्याउने घोषणा गरेकी हुन्।
“नवप्रवर्तनमा आधारित स्टार्टअप सञ्चालन र सहजीकरण गरिने छ। उद्यमशीलता र बौद्धिक संरक्षण नवप्रवर्तन सिपको आधुनिकीकरण मार्फत युवालाई स्वदेशमै उद्योग गर्न आकर्षित गरिनेछ,” राष्ट्रपतिले घोषणा गरिन्।
यसका साथै घरेलु तथा लघु उद्यमहरुलाई प्रविधि हस्तान्तरण र उद्यमशीलताको विकासलगायतका प्याकेज तयार गरिने भएको छ भने साना उद्योगमा नवप्रवर्तन अपनाउने भएको छ।
सबै सरकारी कारोबार डिजिटल माध्यमबाट गरिने
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा सबै सरकारी कारोबारहरु डिजिटल माध्यमबाट गर्ने भएको छ।
सरकारको आगामी नीति तथा कार्यक्रम आज संयुक्त संसदको बैठकबाट सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी कारोबारहरुलाई डिजिटल गर्ने घोषणा गरिन्।
“डिजिटल बैंकिङ्गको अवधारणा अन्तरगत राष्ट्रिय भुक्तानी प्रणालीलाई सुदृढ गरी सबै राष्ट्रिय वित्तीय कारोबारलाई डिजिटल माध्यमबाट गरिनेछ,” उनले भनिन्।
यसका साथै उनले कृषिमा सूचना प्रविधिको प्रयोग बढाइने समेत जानकारी दिइन्।
स्मार्ट ड्राइभिङ लाइसेन्स प्रदेशबाटै वितरण हुने
सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइेसन्स) प्रदेशबाटै वितरण हुने भएको छ।
नीति तथा कार्यक्रममा अब प्रदेशबाटै लाइसेन्स वितरण हुने समावेश गरिएको छ।
हाल केन्द्रीय सरकारको मातहतमा रहेको यातायात व्यवस्था विभागले लाइसेन्स प्रिन्ट गरी प्रदेश सरकारको क्षेत्र अधिकार भित्र पर्ने यातायात कार्यालयहरुमार्फत लाइसेन्स वितरण गर्दै आइरहेको छ।
आगामी आवको लागि ल्याएको नीति तथा कार्यक्रम अनुसार अब प्रदेशबाट लाइसेन्स वितरण हुनेछ।
राष्ट्रिय परिचय पत्रलाई सबै सरकारी सेवाहरुसँग जोडिने
सरकारले राष्ट्रिय परिचय पत्रलाई सबै सरकारी सेवाहरुसँग जोड्ने भएको छ।
नीति तथा कार्यक्रम घोषणाका क्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय परिचय पत्रलाई तदारुकताका साथ वितरण गरिने घोषणा गरिन्।
उनले सबैलाई राष्ट्रिय परिचय पत्रलाई तदारुकताका साथ वितरण गरिने र सबै सरकारी सेवाहरुसँग जोड्ने पनि घोषणा गरिन्।
यसका साथै उनले सुरक्षा क्षेत्रमा पनि सूचना प्रविधिको प्रयोगलाई जोड दिएको घोषणा गरिन्।
सरकारले आगामी बजेटमार्फत सुरक्षा सूचना प्रणालीको प्रयोग गरी शान्तिसुरक्षा र अपराध नियन्त्रणको लागि काम गर्ने भएको छ।
जसमा साइबर अपराध, मिटरब्याजी लगायत सबै प्रकारका अपराधमा सुरक्षा निकायलाई सक्षम बनाइने भएको छ।
यसैगरी न्याय प्रणालीका लागि विद्युतीय प्रणालीको प्रयोग गरेर पहुँच पुयाइने भएको छ भने लेखा परीक्षण कार्यमा सूचना प्रविधिको प्रयोग गरेर क्षमता बढाइने भएको छ।
यसका साथै प्रवासमा रहेका नेपालीलाई मताधिकारको प्रयोग गर्न सकिने बनाउनका लागि आगामी आवको बजेटमा सूचना प्रविधिको प्रयोग गरी भोट हाल्न सकिने बनाउने नीति लिने भएको छ।
‘डिजिटल हेल्थ’का लागि एकीकृत स्वास्थ्य उपचार सूचना प्रणाली
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत डिजिटल हेल्थलाई प्रबर्द्धन गर्ने भएको छ। यसका लागि स्वास्थ्य क्षेत्रमा डिजिटल र सूचना प्रविधिको प्रयोग गरिने भएको छ।
त्यसैगरी सरकारले सबै नागरिकहरुको स्वास्थ्य अभिलेख राख्ने भएको छ।
यसको लागि सरकारले प्रत्येक नागरिकको स्वास्थ्य अभिलेखका लागि एकीकृत स्वास्थ्य उपचार सूचना प्रणाली लागू गर्ने भएको छ।
निजी क्षेत्रसँगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण हुने
सरकारले निजी क्षेत्रसँगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ।
हरित ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै पारम्परिक ऊर्जाको प्रयोगलाई क्रमश: प्रतिस्थापन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
सामाजिक सञ्जाललाई नियमन गर्न कानून बनाउने र करको दायरामा ल्याईने
सरकारले सामाजिक सञ्जाललाई बजेटमार्फत नियमन र करको दायरामा ल्याउने भएको छ।
सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को लागि सरकारको नीति तथा कार्यक्रम आज संसदको संयुक्त बैठकबाट सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युतीय माध्यममा आधारित सामाजिक सञ्जाललाई नियमन गरिने घोषणा गरिन् ।
“विद्युतीय प्रणालीमा आधारित सामाजिक सञ्जाललाई कानून र करको दायरामा ल्याईने।” उनले भनिन्।
यसका साथै सरकारले आगामी बजेटमार्फत डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकालिन प्रयोगबाट सार्वजनिक सेवालाई सहज सुलभ र पारदर्शी बनाउने नीति लिने भएको छ ।
जसको लागि सबै सरकारी निकायहरुमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गरी कागजको प्रयोग कम गरिने भएको छ ।
त्यसैगरी देशभर उच्च गतिको इन्टरनेट सेवा बिस्तार गराउन पहुँच विस्तारको कार्य तीव्रगतिमा लगिने छ भने देशको आफ्नै स्याटेलाइट स्थापना गर्न प्रकृया अगाडि बढाइने भएको छ।
यसका साथै साइबर सुरक्षाको लागि साक्षरता अभियान सञ्चालन गरिने छ भने सरकारले आगामी आवमा ग्रामीण दूरसञ्चार विकास कोषको उपायोग गरि माध्यममिक सामुदायिक विद्यालयहरु र सामुदायिक अस्पतालहरुमा जडित इन्टरनेटको सेवा शुल्कमा ५० प्रतिशत सहुलियत दिने भएको छ।
त्यस्तै १०० माध्यमिक तहका छानिएका विद्यालयहरुमा पढाइने विषयहरुमा समानस्तरको शिक्षा उपलब्ध गराउन सूचना प्रविधिको प्रयोग गरिने भएको छ भने दुर्गम क्षेत्रका अस्पतालमा टेलिमेडिसिनको उपयोग गर्ने भएको छ।
घरजग्गा किनबेचको काम अनलाइनबाटै प्राप्त गर्न सकिने
आगामी आर्थिक वर्षमा घरजग्गा किनबेचको कामलाई पूर्णरुपमा डिजिटल गरिने भएको छ।
हाल प्रयोग भइरहेको प्रविधि र प्रणलीलाई स्तरोन्नति तथा एकीकृत गरी पूर्णरुपमा अनलाइनमार्फत सेवा दिइने सरकारले नीति लिएको छ।
यसका साथै सरकारी, सार्वजनिक, सामुदायिक र गुठि जग्गाको विद्युतीय लागत पनि तयार गरिने भएको छ।
“मालपोत र नापी सम्बन्धी आधारभूत सेवालाई पूर्ण डिजिटल बनाई स्थानीय तहबाट अनलाइनमै प्राप्त गर्नसक्ने व्यवस्था गरिनेछ,” राष्ट्रपति भण्डारीले घोषणा गरिन्।
त्यसैगरी भौगोलिक सूचना प्रणालीमा आधारित एकीकृत जग्गा मूल्यांकन प्रणाली विकास गरी वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गरिने भएको छ।
यसका साथै जलउत्पन्न विपद प्रविधिको प्रयोगबाट न्यूनीकरण गरिने भएको छ।
उद्योग प्रशासनलाई सरल र प्रविधिमैत्री बनाइने
सरकारले उद्योग प्रशासनलाई सरल र प्रविधिमैत्री बनाउने भएको छ।
‘एकल बिन्दु सेवा केन्द्रहरुलाई अधिकारसम्पन्न र प्रविधिमा आधारित बनाइनेछ। उद्योग तथा व्यवसायको स्थापना, सञ्चालन र बहिर्गमनको अभिलेखन एवं सहजीकरणसम्बन्धी सेवा विद्युतीय माध्यमबाट उपलब्ध हुने प्रबन्ध मिलाइनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ।
रोजगारीका अवसर सम्बन्धी जानकारी दिन ई-डाइरेक्टरी तयार पार्ने
सरकारले सिप तथा रोजगार विकासका लागि ई-डाइरेक्टरी तयार पार्ने भएको छ।
सार्वजनिक निजी र सहकारी क्षेत्रमा उपलब्ध रोजगारीका अवसर सम्बन्धी एकीकृत सूचना प्रणालीको विकास गरी सिप तथा रोजगार ई-डाइरेक्टरी तयार गरिने भएको छ।
यसका साथै वैदेशिक रोजगारलाई व्यवस्थित गर्न वैदेशिक रोजगार सूचना प्रणालीको स्तरोन्नति गरिने भएको छ।
प्रकाशित: १२ जेष्ठ २०७९, बिहीबार