Technology Khabar १२ जेष्ठ २०७९, बिहीबार
काठमाडौं ।
सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स)को अनलाइन फारम सोमबारदेखि खुल्ने भएको छ।
यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुले जेठको १५ गतेभित्रमा ड्राइभिङ लाइसेन्सको अनलाइन फारम खुलाउने गरी तयारी भएको जानकारी दिए।
लाइसेन्सको अनलाइन आवेदन लिनका लागि विभागले नेपाली कम्पनी कामक्ष आईटीसँगको सहकार्यमा नयाँ सर्भर तयार गरिसकेको छ।
विभागले लाइसेन्सका लागि नयाँ अनलाइन फारम खुलाउँदा राजस्व पनि अनलाइन प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था पनि गर्न खोजेको थियो। तर नयाँ सर्भरलाई राजश्व भुक्तानीका लागि महालेखा नियन्त्रक कार्यालयको सर्भरसँग जोड्नका लागि प्राविधिक समस्या उत्पन्न भइरहेको छ।
जसका कारण विभागको योजना अनुरुप हालका लागि राजश्व भुक्तानी अनलाइन प्रणालीबाट गर्न सम्भव देखिएको छैन।
यसका लागि विभाग र महालेखा नियन्त्रक कार्यालयका आईटी इन्जिनियरहरुले काम गरिरहेका छन्। तत्कालका लागि अनलाइन भुक्तानी सम्भव नभए पनि लाइसेन्स फारम भने खुलाइने विभागले जानकारी दिएको छ। यो समस्या पनि केही समयमा हल हुने विभागको विश्वास छ।
विभागले २०७८ चैत १ गतेदेखि लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द गरिरहेको छ। लाइसेन्स लिन चाहने सेवाग्राहीको अधिक चाप र सर्भरमा देखिने समस्याका कारण विभागले अनलाइन प्रणाली बन्द गरेको थियो।
यस बिच विभागले नयाँ सर्भर तयार गरि परीक्षण गरिसकेको छ। उक्त परीक्षण सफल भएमा सोमबारदेखि सेवाग्राहीले अनलाइनबाट लाइसेन्सका लागि आवेदन दिन पाउनेछन्।
विभागले जेठकै पहिलो साताबाट लाइसेन्सको अनलाइन आवेदन खुलाउने योजना बनाएको थियो। विगतमा विभागले भारतको मद्रास सेक्युरिटी प्रेसले तयार गरेको सर्भरबाट लाइसेन्सको आवेदन लिने गरेको थियो।
मद्रास सेक्युरिटीले तयार गरेको सर्भरबाट नेपाली कम्पनीले तयार गरेको सर्भरमा डाटा सार्न केही प्राविधिक समस्या उत्पन्न भएको थियो।
पुरानो सर्भरबाट नयाँ सर्भरमा वर्ग थपका लागि आवश्यक डाटा सार्न कठिनाइ हुँदा विभागको योजना अनुसार जेठको पहिलो साताबाट लाइसेन्सको अनलाइन फारम खुलाउन नसकिएको विभागका अधिकारीहरु बताउँछन्।
अहिले पनि राजश्व भुक्तानी अनलाइन प्रणालीबाट गर्न सकिएको छैन। तर पनि सेवाग्राहीलाई लाइसेन्स लिनबाट लामो समय वञ्चित नगर्नका लागि विभागले अनलाइनबाट राजश्व भुक्तानी गर्न नसकिए पनि आवेदन भने खुलाउने जानकारी दिएको छ।
लाइसेन्सको आवेदन खुलेपछि सेवाग्राहीले अनलाइनबाट राजश्व भुक्तानी गर्न नसकेपनि राजश्व भुक्तानीका लागि आवश्यक पर्ने रसिद भने अनलाइनबाटै प्राप्त गर्न सक्नेछन्।
उक्त रसिदको सहायताले सेवाग्राहीले लाइसेन्स कार्यालयले भुक्तानी लिने बैंकमा राजश्व तिर्न सक्छन्। यस व्यवस्थाबाट सेवाग्राहीले लाइसेन्सको लागि राजश्व तिर्न लाइसेन्स कार्यालयमा लामो भिडमा बस्नु पर्दैन।
प्रकाशित: १२ जेष्ठ २०७९, बिहीबार