Technology Khabar ८ जेष्ठ २०७९, आईतवार
काठमाडौं ।
विगत लामो समयदेखि गुगलले एन्ड्रोइड प्रणालीमा धेरै फिचर उपलब्ध गराउँदै आइरहेको छ।
गुगलका ती फिचरहरुले विशेष आवश्यकता भएका प्रयोगकर्तालाई एन्ड्रोइड सिस्टम अपरेटिङ गर्न सहजता प्रदान गर्दै आइरहेको छ। यसैक्रममा कम्पनीले भर्खरै एन्ड्रोइड १३ मा ब्रेल डिस्प्ले सर्पोट गर्ने फिचर थप गर्ने घोषणा गरेको छ।
बिहीबार प्रकाशित ब्लगमा आउँदो एन्ड्रोइड १३ बिटा ३ ले ब्रेल डिस्प्ले सपोर्ट गर्ने उल्लेख गरिएको गिगचाइनले जनाएको छ।
ब्रेल डिस्प्लेको सहायताबाट स्क्रीन प्रयोग गर्न नसक्ने प्रयोगकर्ता (दृष्टिविहीन प्रयोगकर्ताहरुले) स्मार्टफोन वा कम्प्युटरमा सहज पहुँच राख्नेछन् ।
रिफ्रेस गर्न मिल्ने ब्रेल डिस्प्लेमा एउटा इलेक्ट्रो-मेकानिकल उपकरण रहेको छ। जसमा रहेको समतल सतहमा प्वालहरुबाट गोलाकार पिनहरु उठाएर ब्रेल ढाँचाहरु सिर्जना हुन्छ।
ब्रेल साक्षर कम्प्युटर प्रयोगकर्ताहरुले ब्रेल थोप्लाहरु स्पर्श गरेर ब्रेल डिस्प्ले प्रयोग गर्न सक्छन्।
गिगचाइनाका अनुसार यो डिस्प्लेमा ब्रेल लेख्न पनि सकिन्छ। यी उपकरणहरुबाट दृष्टिविहीन व्यक्तिहरुले सहज तथा सरल तरिकाबाट ध्वनि पैदा नगरी मोबाइल चलाउन सक्छन्।
ब्रेल डिस्प्ले आउनुअघि प्रयोगकर्ताहरुले एन्ड्रोइड उपकरणहरुमा ब्रेलब्याक एप प्रयोग गरेर ब्रेल डिस्प्ले जडान गर्नु पर्थ्यो। जसलाई प्ले स्टोरबाट छुट्टै डाउनलोड गर्नु पर्ने वा भौतिक उपकरणको सट्टा टकब्याकभित्र भर्चुअल किबोर्ड प्रयोगमा ल्याउनु पर्ने हुन्थ्यो।
नयाँ अपडेटका साथ अब प्रयोगकर्ताहरुले ब्रेल डिस्प्ले प्रयोग गर्न कुनै अतिरिक्त एप डाउनलोड गर्नु पर्दैन।
टकब्याकमा उपलब्ध धेरै समान सुविधा उपयोग गर्न मिल्नेगरी एन्ड्रोइड १३ बिटा ३ डिस्प्ले अपडेट हुनेछ। ब्रेल डिस्प्लेबाट प्रयोगकर्ताले इमेल लेख्न, फोन गर्न, म्यासेज पठाउन र पढ्न तथा किताब पढ्न सक्छन्।
एप्पलको आईओएस १२ ले पनि ब्रेल डिस्प्ले सपोर्ट गर्छ। यो सुविधा उपलब्ध गराउन एन्ड्रोइड लामो समयदेखि प्रतीक्षामा रहेको थियो। एन्ड्रोइड १३ बिटा ३ को अपडेटपछि ब्रेल डिस्प्लेहरु प्रयोग गर्न थप अतिरिक्त सफ्टवेयरहरु डाउनलोड गर्न आवश्यक नभएको गुगलको भनाइ छ।
दृष्टिविहीन व्यक्तिहरुले एन्ड्रोइड १३ बिटा ३ को अपडेटमा उपलब्ध बटनहरु प्रयोग गरेर स्क्रीन चलाउन सक्छन्। यो सुविधासँगै दृष्टिविहीन मानिसहरुले स्क्रोलिङ र क्यारेक्टर सहज रुपमा सार्न सक्छन्।
प्रकाशित: ८ जेष्ठ २०७९, आईतवार