Technology Khabar ६ जेष्ठ २०७९, शुक्रबार
काठमाडौं ।
अर्को साताबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन फारम खुलाइने भएको छ।
यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुले अर्को साताबाट लाइसेन्सका लागि अनलाइन फारम खुलाउने तयारी भइरहेको जानकारी दिएका हुन्।
विभागले २०७८ फागुन ३० गते सूचना जारी गर्दै चैत १ गतेदेखि लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द गरेको थियो। लाइसेन्स लिन चाहने सेवाग्राहीको अधिक चाप र सर्भरमा देखिने समस्याका कारण विभागले अनलाइन प्रणाली बन्द गरेको थियो।
यस बिचमा विभागले लाइसेन्सको अनलाइन आवेदन सहज र सरल तरिकाबाट भर्न पाउने व्यवस्था मिलाउनका लागि नयाँ सर्भर तयार गरिरहेको थियो। नयाँ सर्भर सेवाग्राहीलाई सेवा दिन तयार भइसकेको पनि सूचना अधिकारी पनेरुले जानकारी दिए।
सर्भर तयार भइसकेकाले विभागले जेठको पहिलो साताबाटै लाइसेन्सको अनलाइन आवेदन खुलाउने तयारी गरेको थियो।
तर पुरानो सर्भरबाट नयाँ सर्भरमा डाटा इन्टिग्रेसन गर्दा केही प्राविधिक समस्या देखिएकाले जेठको पहिलो सातामा अनलाइन आवेदन खुलाउन नसकिएको उनको भनाइ छ।
‘नयाँ लाइसेन्स खुलाउनका लागि कुनै समस्या छैन। तर वर्ग थप गर्नका लागि भने पुरानो सर्भरबाट नयाँ सर्भरमा डाटा इन्टिग्रेसन गर्नु पर्ने हुन्छ,’ पनेरुले टेक्नोलोजीखबरसँग भने, ‘यसमा केही प्राविधिक समस्या सामना गर्नु परिरहेको छ। यसले गर्दा केही ढिलाइ भएको हो।’
अनलाइन लाइसेन्सको आवेदन खुलाउनका लागि आज (शुक्रबार) विभागका अधिकारीहरु बिच छलफल पनि भएको छ। तत्कालै वर्ग थपका लागि डाटा इन्टिग्रेसन गर्न केही समय लाग्ने देखिए पनि नयाँ अनलाइन लाइसेन्स आवेदन भने अर्को साताको सोमबार वा मंगलबार खुलाउने गरी विभागले तयारी अघि बढाइरहेको उनले जानकारी दिए।
यस अघि विभागले भारतको मद्रास सेक्युरिटिजले तयार गरेको सर्भरबाट लाइसेन्सको अनलाइन आवेदन लिने गरेको थियो। अहिले भने नेपाली कम्पनीले नै सर्भर निर्माण गरेको छ।
नयाँ सर्भरमा डाटा इन्टिग्रेसनका लागि मद्रासका अधिकारीहरु नेपाल आएर सहयोग गरिरहेका छन्। यसले गर्दा वर्ग थपको काम पनि छिट्टै हुनेमा उनी विश्वस्त देखिन्छन्।
राजश्व पनि अनलाइनबाटै
लाइसेन्स आवेदनका लागि विभागले तयार गरिरहेको नयाँ सर्भरबाट सेवाग्राहीले लाइसेन्स परीक्षाका लागि आवश्यक रकम पनि अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ। यसका लागि विभागले ड्राइभिङ लाइसेन्स (डीएल) नामको नयाँ सर्भर तयार गरेको छ।
विगतको तुलनामा नयाँ लाइसेन्स सर्भर व्यवस्थित भएको विभागका आईटी अधिकृत सन्तोष पोखरेल बताउँछन्। नयाँ सर्भरमा लगइन पोर्टल रहेको छ।
यो लगइन पोर्टल लाइसेन्स नम्बर वा मोबाइल नम्बर राखेर खोल्न सकिन्छ।
विगतको जस्तो एउटै व्यक्तिले एकभन्दा अधिक पटक लाइसेन्सका लागि आवेदन दिन सक्दैनन्। यसका लागि सेवाग्राहीको नागरिकता नम्बर, नाम, मोबाइल नम्बरलगायत विवरणहरु भेरिफाइ हुनु पर्छ।
यस्तै, सेवाग्राहीले लाइसेन्सका लागि आवेदन दिन चाहेको कार्यालयमा कति कोटा छ, कुन दिन आवेदन दिने र कुन वर्गको लाइसेन्सका लागि आवेदन दिने भन्नेलगायतका विवरण हेरेर फर्म भर्न सकिने पोखरेल बताउँछन्।
फारम भरिसकेपछि मोबाइलमा ओटीपी कोड आउँछ। ओटीपी कोड प्राप्त गरेपछि अनलाइनबाटै लाइसेन्सका लागि आवश्यक रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ।
प्रकाशित: ६ जेष्ठ २०७९, शुक्रबार