
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि (आईसीटी) दिवसमा सहभागीता जनाउने निर्णय गरेका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आफ्ना समस्याहरु समाधानका लागि वार्ताका लागि बोलाएर समस्या समाधान गर्ने आश्वासन दिएसँगै आईसीटी दिवसमा सहभागीता जनाउने भएका हुन्।
यसअघि आईस्पानले सो दिवस बहिष्कार गर्ने घोषणा गरेको थियो। संघले सरकारी निकायहरुले इन्टरनेट सेवाको समस्या समाधान गर्नुको साटो देखावटी कामहरु मात्र गरेको गंभिर आरोप लगाएको थियो। यसका साथै आईस्पानले यस वर्षको सूचना तथा सञ्चार प्रविधि दिवससंग सम्बन्धित कुनै पनि कार्यक्रम र गतिविधि नगर्ने निर्णय गरेको थियो।
आईस्पानको सो निर्णय सार्वजनिक भएसँगै मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको नेतृत्वमा आईस्पानसँग बैठक गर्दै समस्याहरुलाई समाधान गरिने आश्वासन दिईएको छ। सो बैठकमा सचिवसहित मन्त्रालयका सहसचिवहरु तथा लेखाका अधिकृतहरु समेत सहभागी रहेका थिए। आईस्पानको तर्फबाट अध्यक्ष सुधिर पराजुली तथा सीईओ सुवास खड्का सहभागी थिए।
आईतबार दिउँसो भएको वार्तामा मन्त्रालयले विदेशी मुद्रा सिफारिसमा सहजीकरण गरिदिने र बेरुजुको विषयलाई आपसी छलफल गरेर समाधान गर्ने गरि प्रस्ताव गरेको बताईएको छ।
यसका साथै सचिवले विशेष आग्रहसहित आईसीटी डेमा सहभागी हुन आईस्पानलाई अनुरोध गरेसँगै आईस्पानको बोर्ड बैठकले आईसीटी डेमा सहभागी हुने निर्णय गरेको हो।
“हामी आईतवार पनि मन्त्रालयसँग वार्ता र छलफलमा थियौं । त्यहाँ हाम्रा समस्या सहजीकरण गरिने आश्वासन दिईएको छ। छलफललाई निरन्तरता दिने र आईसीटी डेमा सहभागी हुन विशेष अनुरोध गरिएको थियो,” आईस्पानका एक सदस्यले भने।
आईस्पानले हाल आईसीटी डेमा सहभागी भएपनि आफ्ना मागहरु निरन्तर समाधान नभएसम्म र सरकारले गर्ने सहजीकरणको भूमिकाअनुसार नै आगामी कदम चाल्ने जनाएको छ।
यसअघि आईस्पानले प्रेस विज्ञप्तीमार्फत राज्यका विभिन्न निकायहरुले इन्टरनेट बन्द गराउने उद्धेश्यका साथ निरन्तर लागिरहेको आभास हामीलाई भएको गंभिर दोष सरकारलाई लगाएको छ।
सेवा प्रदायकहरुको संस्थाले बिगत ६ महिनादेखि नै इन्टरनेट र नीजि क्षेत्रलाई सिध्याउने किसिमका गतिविधिको निरन्तरता राज्य र राज्यका निकायहरुबाट भइरहेको दाबी गरेको छ।
यो पनि हेर्नुस्-
आईसीटी दिवस बहिष्कार गर्ने आईस्पानको घोषणा, चुनावमा इन्टरनेट बन्द हुनसक्ने चेतावनी
प्रकाशित: १९ बैशाख २०७९, सोमबार