मोबाइल फोन आयातमा अनौपचारिकरुपमा रोक, बजारमा अभाव हुनसक्ने आशंका

Technology Khabar २६ चैत्र २०७८, शनिबार

मोबाइल फोन आयातमा अनौपचारिकरुपमा रोक, बजारमा अभाव हुनसक्ने आशंका

काठमाडौं ।

पछिल्लो समय सरकारले अर्थतन्त्र समस्यामा परेको भन्दै विलासिताका वस्तुहरुको आयातमा रोक र कडाई गरिरहेको छ। सोहि क्रममा सञ्चारको अभिन्न अंग र दैनिक आवश्यक वस्तु मोबाइल फोनको आयातमा पनि अनौपचारिकरुपमा रोक लगाईएको व्यवसायीहरुले गुनासो गरेका छन्।

नेपाल राष्ट्र बैंकले विलासिताका वस्तुहरुको आयातमा कडाई र रोक लगाएसँगै मोबाइल आयात पनि समस्यामा परेको हो।

व्यवसायीहरुले औपचारिकरुपमा सरकारले मोबाइल आयात रोक्ने आदेश नदिएपनि आयातका लागि बैंकहरुलाई प्रक्रिया रोक्न भनेको आरोप लगाएका छन् ।

मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए)का वरिष्ठ उपाध्यक्ष संजय अग्रवालले बैंकहरुले मोबाइल फोन आयातका लागि एलसी खोल्न तथा ऋण रकम दिन नमानेको आरोप लगाए।

“हामीलाई अस्तिदेखि मोबाइल फोन आयातको प्रक्रिया गर्न नै रोक लगाईएको छ। सरकारले केहि नभनेपछि मौखिकरुपमा बैंकहरुले सेवा दिएका छैनन्,” अग्रवालले टेक्नोलोजीखबरसँग भने।

उनकाअनुसार बैंकहरुले आयात प्रक्रियामा अनौपचारिकरुपमा रोक लगाएसँगै त्यस बारेमा नेपाल राष्ट्र बैंकसँग समेत कुराकानी गरिएको छ।

“हामीले हिजो(बिहिबार) नै गर्भनर ज्यूसँग कुराकानी गरेका छौं। उहाँले म यस बारेमा बुझ्छु भन्नु भएको छ। मोबाइल फोन विलासिताको बस्तु नभई अत्यावश्यक वस्तु भएको भनेर ब्रिफ गरेका छौं,” उनले भने।

सरकारले मोबाइल फोनलाई ‘गाँस, बास र कपास’पछि सञ्चारको साधनमा राखेर हेर्नुपर्ने नत्र त्यसले कनेक्टिभिटीलाई नै असर गर्ने अग्रवालले बताए।उनले अहिले बजारसमेत सुस्त भएको हुँदा खासै केही असर नभएपछि भविश्यमा यसको असर देखिने आशंका व्यक्त गरे।

यसैगरी कुलप्याड मोबाइल आयात गर्ने कम्पनी आयातकर्ता तथा बितरक कम्पनी एसडी इन्टरनेशनल प्रालि जनरल म्यानेजर उपेन्द्र साहले आयात गर्नका लागि बैंकमा लगेको कागजातहरु नै फिर्ता गरिदिएको गुनासो गरे।

“हामीले सामान(मोबाइल फोन) मगाउनका लागि बैंकमा प्रक्रिया पुर्याउन कागतपत्र बुझाएका थियौं तर अहिले आयात गर्न रोक लगाएको भन्दै मौखिकरुपमा कागजात फिर्ता गरायो,” उनले भने।

उनले यसरी आगामी दिनमा फोन बजारमा बेच्न नै समस्या हुने जिकिर गरे। साहले अन्य कम्पनीहरुमा पनि यस्तै समस्या भोगेको बारेमा व्यवसायीहरुले बताएको जानकारी दिए

उता राष्ट्र बैंकका प्रवक्ता डा. गुणकर भट्टले बिहिबार एक कार्यक्रममा निश्चित वस्तुहरुमा हाल आयात रोक्दा पनि कुनै समस्या नहुने बताएका थिए।

प्रकाशित: २६ चैत्र २०७८, शनिबार