Technology Khabar २४ चैत्र २०७८, बिहीबार
काठमाडौं ।
केही मानिसहरुको अँध्यारोमा टीभी, मोबाइल तथा ल्यापटप हेर्ने बानी हुन्छ। यसैगरी हिजोआजका युवा पीँढी अँध्यारो कोठा वा स्थानमा बसेर ल्यापटप वा कम्प्युटरमा काम गरिरहेका वा गेम खेलिरहेका पाइन्छन्।
मानिसको आँखाको लागि यसरी अँध्यारोमा स्क्रीन हेर्नु सबैभन्दा हानिकारक रहेको अध्ययनहरुले देखाएका छन्।
अँध्यारोमा स्क्रीन हेर्दा हाम्रो आँखालाई कसरी असर पर्छ त?
केही मानिसहरुलाई हलमा अँध्यारोमा चलचित्र देखाइने भएकाले घरमा पनि त्यसैगरी बत्ती निभाएर र झ्यालढोका बन्द गरेर टीभी हेर्न रमाइलो हुने सोच आउन सक्छ। अँध्यारोमा टीभीमा आउने सामग्री अझ प्रस्ट देखिने भएकोले यस्तो सोच आउनु सामान्य नै हो।
तर यो तरिका नै आँखाका लागि निकै घातक हुन सक्छ भन्ने सबैलाई थाहा नहुन सक्छ।
हाम्रो आँखाले प्रकाशको उपलब्धतामा कुनै पनि वस्तुलाई स्पष्ट देख्न सक्दछ। यसैले टीभी, मोबाइल वा ल्यापटपलगायतका स्क्रीन हेर्दा कोठामा हल्कामात्र भए पनि प्रकाश उपलब्ध हुनु जरुरी हुन्छ। तर प्रकाशका किरणहरु सोझै टीभीको पर्दामा भने पार्नु हुँदैन।
कस्तो हुन्छ असर?
अँध्यारो कोठामा टीभी हेर्नाले सामायतया: दुई प्रकारका हानिकारक असर पर्न सक्छन्।अँध्यारोमा टीभीको स्क्रीनबाट आउने प्रकाशका कारण आँखा तिर्मिराउने हुन्छ।
अँध्यारो कोठामा बसेर टीभी हेरिरहँदा यसको असर अझ बढी हुन्छ। जसका कारण आँखामा नराम्ररी क्षति पुर्याउन पनि सक्छ।
फुटेज तलमाति हुँदा र लगातार परिवर्तन हुने लाइट इफेक्टले असर पार्ने
अँध्यारो कोठामा टीभी हेर्दा स्क्रीनमा फुटेज तथा लाइट इफेक्ट निकै आउने गर्दछ। यी निकै तलमाथि गरिरहने भएकाले आँखाले ठम्याउन सक्दैननर आँखा थाकेको महसुस हुन वा अलिक दबाब पर्न थाल्छ।
अँध्यारोमा ल्यापटप हेर्नु अझ हानिकारक
धेरैजसो युवा पीँढीको बानी अँध्यारोमा बसेर ल्यापटपमा काम गर्ने हुन्छ। यसो गर्दा घण्टौं ल्यापटपको अगाडि बस्नुपर्ने हुन्छ।
यो काम अँध्यारोमा टीभी हेर्नुभन्दा पनि निकै घातक हुन्छ। यस्तै कम्प्युटर वा स्मार्टफोन पनि लामो समयसम्म हेर्ने बानी लागेमा कालान्तरमा आँखाको ज्योति नै गुम्न पनि सक्ने न्यूज१८ ले उल्लेख गरेको छ।
आँखा सुक्खा र रातो हुन सक्छ
ल्यापटप, कम्प्युटर तथा स्मार्टफोनबाट आँखालाई हानी गर्ने नीलो रंगको प्रकाश निस्किन्छ।
हामी घण्टौंसम्म ल्यापटप वा मोबाइलको स्क्रीनमा हेरेर बस्दा आँखा झिम्क्याउन बिर्सन्छौं।
यसले आँखालाई सुक्खा बनाएर रातो बनाउन पनि सक्छ। यसलाई रेड आई पनि भनिन्छ।
प्रकाशित: २४ चैत्र २०७८, बिहीबार