
काठमाडौं ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नयाँ प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया मिलिभगतमा अगाडि बढेको भन्दै कर्मचारी संगठनहरुले विरोध जनाएका छन्।
हाल प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियाको विरोध गर्दै नेपाल टेलिकम वर्कर्स युनियनले छनोट सूचीमा प्रकाशित नामावली हेर्दा मिलिभगत गरिएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा सिफारिस तथा छनोट समितिमाथि आरोप लगाएको छ।
युनियनले कम्पनीको नेतृत्व गर्ने व्यक्ति संस्थाभित्रै बाट अनुभवी विषय वस्तु बुझेको व्यक्ति हुनुपर्ने माग गरेको छ। युनियनले प्रबन्ध निर्देशक कुनै शक्ति केन्द्रको निर्देशन वा प्रभावमा नपरी लामो समय संस्थामै रही दूरसञ्चार क्षेत्रमा विशेषज्ञता हासिल गरेको व्यक्ति हुनुपर्ने जनाएको हो।
युनियनले चैत २१ गते सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई ध्यानाकर्षण पत्र लेख्दै भनेको छ,’कम्पनी र राज्यको अहित हुने गरी गरिने कुनै पनि क्रियाकलापको विरुद्ध सचेत रहँदै जस्तोसुकै कदम चाल्न यस युनियन तयार रहेको उद्घोष गर्दछौं।’
त्यसैगरी युनियनले यसअघि पनि नेपाल टेलिकममा दूरसञ्चार क्षाेत्रमा लामाे समय सेवा गरी अनुभव र विज्ञता हासिल गरेको व्यक्ति नै प्रबन्ध निर्देशक नियुक्ति हुँदै आएको स्मरण समेत गराएको छ।
युनियनले नेपाली जनताकाे नासो र सम्पत्ति माथि धावा बोल्न खाजेको स्पष्ट भएको समेत दाबी गरेको छ।
यसका साथै नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन र नेपाल टेलिकम कर्मचारी युनियनले समेत दूरसञ्चार क्षेत्रकै अनुभवी र कम्पनीकै वरिष्ठ व्यक्तिहरुमध्येबाट नियुक्त गर्न मन्त्रालयमा लबिङ्ग गर्दै आएका छन्।

यसैबीच सञ्चार मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालको नेतृत्वमा गठन गरेको सिफारिस तथा छनोट समितिले मंगलबारदेखि अन्तरवार्ता प्रक्रिया शुरु गरेको छ। जसमा सूचीमा रहेका ९ जना सहभागी छन्।समितिले उम्मेदवारहरुको अन्तरवार्ता र व्यवसायिक कार्ययोजना सहितको प्रस्तुतिपछि ३ जनाको नाम छनोट तथा सिफारिस गर्नेछ।
सम्बन्धित समाचार-
नेपाल टेलिकमका प्रबन्ध निर्देशकको प्रतिस्पर्धीका लागि तोकियो अन्तरवार्ताको समय
सूचीअनुसार प्रतिस्पर्धाको उम्मेदवारहरुमा अर्जुन बाबु ढकाल, अमलेन्दु नारायण सिंह, दीपक बहादुर शाही, नगेन्द्र कुमार दास, प्रदीप राज उपाध्याय, बुद्धि प्रसाद आचार्य, सुनिल पौडेल, सुरज सिंह थापा र संगीता पहाडी अर्याल छन्।
यो पनि हेर्नुस्-
देशभरीका स्थानीय तहहरुमा सूचना प्रविधि केन्द्र स्थापना गर्दै दूरसञ्चार प्राधिकरण
प्रकाशित: २२ चैत्र २०७८, मंगलवार