
काठमाडौं ।
पछिल्लो दिनमा इन्टरनेट सेवामा तिब्र प्रतिस्पर्धा हुँदै आएको छ। इन्टरनेट सेवा प्रदायकहरुले विशेषगरि १०० एमबीपीएस भन्दा धेरै स्पीडको इन्टरनेटको बारेमा ग्राहकहरुलाई आकर्षित गर्ने प्रयास गरेका छन्।
नेपालमा धेरै ग्राहकहरु भएका र नेटवर्क भएका कम्पनीहरुले आफ्नो इन्टरनेट सेवालाई पछिल्लो दिनमा १०० एमबीपीएस भन्दा बढि दिने बाचाका साथ प्रचार गरिरहेका छन्।
१०० एमबीपीएस भन्दा धेरै स्पीडको इन्टरनेट दिनेमा सबैभन्दा अगाडि सीजीनेट आएको हो भने त्यसपछि क्रमशः अन्य कम्पनीहरुले सेवा बिस्तारको घोषणा गरेका हुन्।
सीजीनेटले आफ्नो सेवा शुरुवात गरेदेखि नै बजारमा आक्रमक सेवा योजना लन्च गरेको छ जसले अन्य बजारका ठूला र पहिलेदेखि नै पकड भएका सेवा प्रदायकहरुलाई पनि अधिक स्पीडको सेवा सस्तो मूल्यमा ल्याउन बाध्य बनाएको छ।
हामीले यहाँ तपाईँलाई १०० एमबीपीएस भन्दा माथि स्पीडको इन्टरनेट सेवा दिने प्रमुख सेवा प्रदायकहरुको सेवा र मूल्यको तुलना गर्ने प्रयास गरेका छौं।
यहाँ हामीले १०० एमबीपीएस माथि न्यूनतम स्पीड दिने सेवा प्रदायकहरुको सेवा शुल्क र सुबिधाहरुलाई तुलना गरेका छौं।
यसमा समावेश भएका कम्पनीहरुमा सीजी नेट कम्युनिकेसन्स लिमिटेड, वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड, डिसहोम फाइबरनेट लिमिटेड, सुबिसु केवलनेट लिमिटेड, भायनेट कम्युनिकेसन्स प्रालि र क्लासिकटेक प्रालिको इन्टरनेट सेवाको तुलना गरेका छौं।
सीजी नेट कम्युनिकेसन्स
कम्पनीहरुको वेबसाइटमा राखिएको ग्राहक सेवाको स्पीड र मूल्यको आधारमा हेर्दा अहिलेपनि सबैभन्दा सस्तो सीजी नेटको सेवा नै देखिन्छ।
कम्पनीले नेपाली बजारमा आफ्नो सेवा शुरु गरेदेखि नै बजार हस्तक्षेप गर्दै एकैपटक १२० एमबीपीएसको इन्टरनेट सेवा घोषणा गरेको थियो। यस बाहेक कम्पनीले ५० एमबीपीएसको सस्तो सेवा पनि दिने गरेको देखिन्छ।
सीजी नेटको १२० एमबीपीएस सेवाको मासिक मूल्य ९९९ रुपैयाँ मात्र तोकिएको छ भने वार्षिकरुपमा ११ हजार ९८८ रुपैयाँ तोकिएको देखिन्छ।
सीजीको १२० एमबीपीएस लिँदा इन्स्टलेसन र तारको शुल्क नलाग्ने बनाएको छ भने ड्यूल ब्याण्ड राउटरको २५ सय र डिपोजिटको ५०० रुपैयाँ अतिरिक्त तिर्नुपर्ने हुन्छ। तर वार्षिक सेवा लिएमा डिपोजिट ५०० रुपैयाँ मात्र तिर्दा हुन्छ।
भायनेट कम्युनिकेसन्स
यस बाहेक सीजी नेट भन्दा केहि महंगो मूल्य आधारमा भायनेट कम्युनिकेसन्स प्रालिले सेवा दिने देखिन्छ। कम्पनीको वेबसाइटकाअनुसार भायनेटले १२५ एमबीपीएसको इन्टरनेट मासिक ११ सय रुपैयाँमा दिने उल्लेख छ । जसमा एक पटकका लागि इन्स्टलेशन चार्ज ५०० रुपैयाँ, ड्यूल ब्याण्ड राउटर २५ सय रुपैयाँ र डिपोजिटको ५०० रुपैयाँ तिर्नुपर्ने हुन्छ।
जसमध्ये वार्षिकरुपमा सेवा लिँदा १३ हजार २०० रुपैयाँ सेवा शुल्क तोकिएको छ भने यसमा सित्तैमा इन्स्टलेशन तथा ड्यूल ब्याण्ड राउटर १ हजाररुपैयाँ र डिपोजिटको ५०० रुपैयाँ तिर्नुपर्ने हुन्छ।
कम्पनीले यसका साथमा भायटिभी दिने उल्लेख गरेको छ। तर भायटिभीका लागि सेवा सुचारुलाई अतिरिक्त शुल्क लाग्नेछ।
वर्ल्डलिंक कम्युनिकेसन्स
यसपछिको सस्तो मूल्य वर्ल्डलिंक कम्युनिकेसन्सको देखिन्छ। जसमा कम्पनीले १५० एमबीपीएस सेवालाई वार्षिकरुपमा १४ हजार ४०० रुपैयाँमा ल्याएकोछ। जसको आधारमा हेर्दा मासिकरुपमा १२ सय रुपैयाँ सेवा शुल्क देखिन्छ। केहि दिनदेखि भने कम्पनीले १५० एमबीपीएसलाई अपग्रेड गरेर २०० एमबीपीएस बनाएको छ।
कम्पनीले यसमा ओएनयू चार्ज निशुल्क गरेको छ भने डिपोजिट ५०० रुपैयाँ तोकेको छ । यस बाहेक तार निशुल्क छ भने अप्सनअन्तरगत वान बिकोन १.१ को लागि रेन्टल चार्ज २ हजार रुपैयाँ तोकेको छ। त्यसभन्दा माथि पनि विकल्पहरु छन्।
यसमा कम्पनीले एउटा नेटटिभी सेवा निशुल्क दिने उल्लेख छ तर त्यसको एक्टिभेसन शुल्क भने छुट्टै तिर्नुपर्नेछ।
सुबिसु केवलनेट
अर्को इन्टरनेट सेवा प्रदायक सुबिसु केवलनेटले समेत १०० एमबीपीएस भन्दा माथिको इन्टरनेट सेवा दिईरहेको छ। कम्पनीको वेबसाइटमा हेर्दा १५० एमबीपीएसको स्पीडको लागि वार्षिक सेवा शुल्क १३ हजार २७४ रुपैयाँ तोकेको छ जसको आधारमा हेर्दा मासिक ११ सय ०६ रुपैयाँ १७ पैसा सेवा शुल्क पर्दछ।
यसमा कम्पनीले इन्स्टलेशन शुल्क नलिने उल्लेख छ भने एक पटकका लागि तारको ८८५ रुपैयाँ तथा ओएनयू एक्टिभेसन चार्ज १३ सय २७ रुपैयाँसहित कुल १५ हजार ४८६ रुपैयाँ लाग्ने उल्लेख छ। जसमध्ये डिभाइस फिर्ता गरेपछि ५०० रुपैयाँ फिर्ता गरिने उल्लेख छ। कम्पनीले यसमा कुनै पनि अन्य सेवाहरु दिनेछैन्।
क्लासिक टेक
१०० एमबीपीएस भन्दा माथिका सेवा दिने कम्पनीहरुमा क्लासिक टेक प्रालिको सेवा पनि रहेको छ। तर इन्टरनेट सेवा मात्र दिने कम्पनीहरुमध्ये क्लासिक टेक कम्पनीले सबैभन्दा महंगो शुल्क दरमा १५० एमबीपीएसको इन्टरनेट सेवा दिने देखिन्छ। कम्पनीको वेबसाइटका अनुसार १५० एमबीपीएसको लागि सेवा शुल्क मासिक १५ सय रुपैयाँ तोकिएको छ भने वार्षिकरुपमा यो शुल्क १४ हजार ३८८ रुपैयाँ पर्नेछ।
कम्पनीले यसमा सबै इन्स्टलेशन निशुल्क गरेको छ भने एक महिनाको लागि तारको ५०० रुपैयाँ ड्यूल ब्याण्ड ओएनयू रेन्टल २५ सय र डिपोजिट ५०० रुपैयाँ लिनेछ। तर यसमा वार्षिकरुपमा सेवा लिँदा तारको ५०० र डिपोजिटको ५०० रुपैयाँ मात्र लिनेछ।
कम्पनीले १५० एमबीपीएसको इन्टरनेट सेवा लिँदा आईपीटीभी सित्तैमा दिने उल्लेख छ ।तर त्यसको लागि एक्टिभेसन र अन्य शुल्कहरु छुट्टै लाग्ने जनाएको छ।
डिसहोम फाइबरनेट
डिसहोम विशेषगरी डिटीएच सेवाको लागि एक मात्र सेवा प्रदायक हो । यसले देशभरमा नै डिटीएच सेवा पुर्याएपछि इन्टरनेट सेवामा पनि हात हालेको छ। जसअन्तरगत कम्पनी आक्रामक रुपमा बजारमा सेवा बिस्तार गर्ने क्रममा रहेको छ। तर यसको इन्टरनेनेट सेवा सबैभन्दा महंगो रहेको देखिन्छ।
१०० एमबीपीएस माथिको स्पीडमा इन्टरनेट सेवाको मूल्य आधारमा यसको सेवा सबैभन्दा महंगो छ। वेबसाइटकाअनुसार कम्पनीले डिसहोम फाइबरनेटमा १०० एमबीपीएसको इन्टरनेट स्पीड दिने देखिन्छ। कम्पनीले दिने १०० एमबीपीएस इन्टरनेट सेवाको मूल्य मासिक १९ सय रुपैयाँ तोकेको छ भने वार्षिकरुपमा यो शुल्क १८ हजार ९९९ रुपैयाँ रहेको वेबसाइटमा उल्लेख।
यो सेवामा कम्पनीले १ महिनाको सेवामा इन्टरनेट कनेक्सन चार्ज २ हजार रुपैयाँ लिने उल्लेख छ भने वार्षिक इन्टरनेट लिँदा निशुल्क बनाएको छ। कम्पनीले यसमा ड्यूल ब्याण्ड ओएनटी दिने जनाएको छ।
डिसहोम फाइबरनेटले १०० एमबीपीएस इन्टरनेट लिँदा एउटा आईपिटिभी सेवा निशुल्क दिने उल्लेख छ। तर त्यसको इन्स्टलेसन र एक्टिभेशनको लागि छुट्टै शुल्क तिर्नुपर्नेछ।
यस बाहेक डिसहोमले १०० एमबीपीएस इन्टरनेट र डिटिएस सेवा सुबिधाको कम्बोअफर समेत दिएको छ जसमा ८९९ रुपैयाँमा नै मासिक १०० एमबीपीएस इन्टरनेट र वार्षिकरुपमा १० हजार ७८८ रुपैयाँ सेवा शुल्क तोकिएको छ तर त्यसमा डिटिएचको मासिक २४ सय रुपैयाँ वा वार्षिकरुपमा १५ सय रुपैयाँ अतिरिक्त तिर्नुपर्ने हुन्छ।
| कम्पनी | इन्टरनेट स्पीड | वार्षिक शुल्क | इन्स्टलेशन | तार शुल्क | राउटर/ओएनयू शुल्क | डिपोजिट शुल्क |
| वर्ल्डलिंक कम्युनिकेसन्स | २०० | १४,४०० | फ्रि | ५०० | लाग्ने | ५०० |
| सुबिसु केबलनेट | १५० | १३,२७४ | फ्रि | ८८५ | लाग्ने | ५०० |
| डिशहोम फाइबरनेट | १०० | १८,९९९ | फ्रि | * | लाग्ने | * |
| भायनेट कम्युनिकेसन्स | १२५ | १३,२०० | फ्रि | * | लाग्ने | ५०० |
| क्लासिक टेक | १५० | १४,३८८ | फ्रि | फ्रि | फ्रि | ५०० |
| सिजी नेट | १२५ | ११,९८८ | फ्रि | फ्रि | फ्रि | ५०० |
हाल बजारमा सेवा प्रदान गरिरहेका प्रमुख इन्टरनेट सेवा प्रदायकहरुको सेवा शुल्कको आधारमा हेर्दा सीजी नेटको सेवा अहिलेसम्म पनि सस्तो रहेको देखिन्छ। तर स्पीडको आधारमा हेर्दा भने अन्य कम्पनीहरुले त्यो भन्दा धेरै स्पीडको इन्टरनेट सेवा दिएको देखिन्छ। सस्तो सेवा दिएपनि सीजी नेटले सबै स्थानमा भने सेवा बिस्तार गर्न सकेको छैन्। कम्पनीको वेबसाइटकाअनुसार हाल सीजीको नेटवर्क काठमाडौं उपत्यका भित्र पनि सिमित शहरी स्थानहरुमा मात्र रहेको देखिन्छ।
इन्टरनेट सेवा प्रदायकहरुले उल्लेखित बाहेकका उच्च गतिका इन्टरनेट सेवा १ टिबीपीएससम्म दिने उल्लेख गरेका छन तर त्यसको सेवा शुल्क समेत सोहिअनुसार फरक फरक तोकिएका छन्।
प्रकाशित: २० चैत्र २०७८, आईतवार