
काठमाडौं ।
सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको नयाँ सदस्यहरु नियुक्त गर्नका लागि सिफारिस गर्नेगरी सिफारिस समिति गठन गरेको छ।
मन्त्रिपरिषदको बैठकले प्राधिकरणका नयाँ सदस्यको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा सिफारिस समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबार जानकारी दिए।
निर्णयअनुसार आगामी वर्ष दूरसञ्चार प्राधिकरणमा नयाँ दुई सदस्यहरु नियुक्त गर्नुपर्ने हुन्छ।
हालका सदस्यहरु चुडामणी चौलागाई र टेकनाथ आचार्यको अवधि २०७९ जेठ १८ गते सकिँदैछ। सोहीअनुसार सरकारले नयाँ सदस्यहरुलाई नियुक्त गर्न सिफारिस समिति गठन गरेको हो।
सो समितिले सरकारलाई रिक्त हुने प्राधिकरणका सदस्यहरुको लागि आवेदन माग गर्ने र त्यसमध्येबाट छनोट गरेर सरकारलाई सिफारिस गर्नेछ।
सरकारले बैशाखमा स्थानीय चुनाव भएको हुँदा र त्यसपछि प्रक्रिया शुरु गर्दा ढिलाई हुने र प्राधिकरणमा सदस्यहरु खालि हुने संभावना भएको कारण चुनाव अगाडि नै प्रक्रिया शुरु गर्न लागेको बताईएको छ।
हालका सदस्य चौलागाई प्राविधिक क्षेत्रमा विज्ञको रुपमा प्राधिकरणमा नियुक्त भएका थिए। उनले पछिल्लो समय चर्चामा रहेका फाइभजी, फ्रिक्वेन्सी नियमन र अक्सन लगायतका प्राविधिक विषयहरुमा सुझाब र निर्णयमा सहयोग गर्दै आएका छन्।
त्यसैगरी आचार्य चार्टर्ड एकाउन्टेन्ट हुन र उनले लेखा क्षेत्रलाई व्यवस्थित गर्न प्राधिकरणमा भूमिका निभाउँदै आएका छन् ।
दुबै सदस्यहरुलाई तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड सरकारले २०७४ जेठ १९ गते एकै दिन पाँच वर्षका लागि नियुक्त गरेको थियो।
यो पनि हेर्नुस्-
प्रकाशित: १५ चैत्र २०७८, मंगलवार