
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक लुप नेटवर्कस लिमिटेडले रु.१०० अंकित दरका ४,००,००० कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्ने भएको छ। यसका साथमा कम्पनी इन्टरनेट सेवा प्रदायकहरु मध्ये आईपीओ जारी गर्ने पहिलो कम्पनी समेत हुने भएको छ।
चार करोड रुपैयाँ बराबरको शेयर निस्कासनका लागि लुप नेटवर्कसले एनआईसी एशिया क्यापिटलसँग सहकार्य गरेको छ।
कम्पनीको रु.१००/– अंकित दरका ४,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) साधारण शेयर सार्वजनिक निष्कासन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र लुप नेटवर्कस लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ।
एनआईसी एशिया क्यापिटलले ‘आईडिया टू आईपीओ’ सेवा अन्तर्गत सो कम्पनीलाई सम्पूर्ण सेवा उपलब्ध गराउने भएको छ।
लुप नेटवर्कसका प्रबन्ध निर्देशक सतिस पोखरेलले २ वर्षदेखिको तयारीअनुसार नै शेयर ल्याउन लागेको जानकारी दिए। उनले यससँगै आईपीओ जारी गर्ने पहिलो इन्टरनेट सेवा प्रदायक हुने बताए।
“हामी सेवा बिस्तारको क्रममा छौं र लगानी आवश्यक भएको छ। आईपीओको रकमले हामीलाई २०२५ सम्ममा १ लाख ग्राहक पुर्याउने लक्ष्यमा सहयोग गर्नेछ,” उनले टेक्नोलोजीखबरसँग भने।
यसका साथै कम्पनीले छिटै नेटवर्क सेवा प्रदायकको अनुमति पनि प्राप्त गरेर सेवा बिस्तार गर्ने योजनामा रहेको जानकारी उनले दिए।
प्रबन्ध निर्देशक पोखरेलकाअनुसार हाल कम्पनीको चुक्ता पूँजी ५ करोड रुपैयाँ छ भने आईपीओपछि सो पूँजी १२ करोड रुपैयाँ हुनेछ र यसमा अन्य लगानीकर्ताहरु समेत थपिने बताए।
हाल ५५ जना लगानीकर्ताहरु रहेको कम्पनीको सर्वसाधारण शेयर लगानी रकम कुल लगानीको करिब २५ प्रतिशत हुने प्रबन्ध निर्देशक पोखरेलले जानकारी दिए।
कम्पनीले हाल काठमाडौं, ललितपुर, जनकपुर नवलपरासी, भैरहवा लगायतका स्थानहरुमा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ। यस बाहेक कम्पनीले आईटी र उपकरणको क्षेत्रमा समेत काम गर्दै आएको जनाएको छ।
प्रकाशित: १० चैत्र २०७८, बिहीबार