Technology Khabar १ चैत्र २०७८, मंगलवार
काठमाडौं ।
एक्सपेङ तथा ली अटोलगायत चिनियाँ अटो निर्माताहरु सिलिकन कार्बाइड (एसआईसी) सेमिकन्डक्टरको क्षेत्रमा आफ्नो विस्तार गर्न लागेका छन्।
दिन प्रतिदिन नवीन उर्जासम्बन्धी एप्लिकेशनका लागि आवश्यक चिपहरु बढ्ने क्रमले निरन्तरता पाएपछि यी कम्पनीहरु लगानी विस्तारमा लागेको डिजिटाइम्सले उल्लेख गरेको छ।
एक्सपेङ हालै सेमिकन्डक्टर सोलुशन प्रोभाइडर इन्भेन्टचिप टेक्नोलोजीको ३.७१ प्रतिशतको शेयरहोल्डर बनेको छ। गत फेब्रुअरीमा इन्भेन्टचिपले एक्सपेङबाट आएको लगानीसहित आफ्नो रणनीतिक फाइनान्सियल राउन्ड समापन गरेको छ।
एक्सपेङ केही वर्षयता वैश्विक चिप अभावबाट ग्रसित भइरहेकाले २०२१ मा थुप्रैपटक आफ्ना सवारी डेलिभरी गर्न स्थगित गर्नुपरेको थियो।
अब भने एक्सपेङ यो लगानीसँगै एसआईसी चिप उत्पादनमा लगानीकर्ताको भूमिकामा रहने भएको हो।
इन्भेन्टचिप चीनमा उद्योग-स्तरको एसआईसी मोस्फेट डिभाइसहरु आपूर्ति गर्ने मुख्य कम्पनीहरुमध्ये पर्दछ। यो चीनमा ६ इन्च एसआईसी मोस्फेट उत्पादन र प्रोसेस प्लेटफर्म स्वतन्त्ररुपमा विकास गर्ने एकमात्र कम्पनी भएको डिजीटाइम्सले लेखेको छ।
प्रकाशित: १ चैत्र २०७८, मंगलवार