काठमाडौं ।
शाओमीले नेपाली बजारमा आफ्नो नयाँ फ्ल्यागशिप डिभाइस शाओमी १२ प्रो लन्च गर्ने भएको छ। कम्पनीले गत डिसेम्बरमा चीनमा लन्च गरेको १२ सिरिजको फोन मध्ये नेपालमा शाओमी १२ प्रो स्मार्टफोन केही दिनमा सार्वजनिक गर्ने योजना गरेको छ।
नेपालमा यो फोन ग्लोबल लन्चको लगत्तै उपलब्ध हुने बताईएको छ। तर मूल्य कति हुनेछ भन्ने अझै तय नभएको कम्पनी स्रोतले जानकारी दिएको छ।
शाओमी १२ प्रोको ग्लोबल लन्च अर्को साता यहि मार्च १५ मा हुँदैछ।
शाओमी १२ प्रो मा स्न्यापड्रागन ८ जेन१ चिपसेट राखिएको छ भने यसमा दोस्रो जेनेरेशनको कम पावर खपत गर्ने विश्वकै पहिलो २के स्क्रीन राखिएको छ। यसबाहेक यो डिभाइसमा सोनीको आईएमएक्स७०७ सेन्सर तथा हर्मन कार्डन स्पीकर पनि उपलब्ध छ।
फोटोग्राफीका लागि ट्रिपल क्यामरा सेटअप रहेको छ। जसमा तीनओटै क्यामराहरु ५० मेगापिक्सेलको छ। ड्यूल लेड ड्यूल टोन फ्ल्याशसहितको क्यामराले ८के भिडियो खिच्न सक्दछ। त्यसैगरी सेल्फीका लागि ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ।
शाओमी १२ प्रोमा ८ जीबी र १२ जीबी र्याम हुनेछ भने आन्तरिक स्टोरेज १२८ र २५६ जीबी रहेको छ। फोनमा ६.७३ इन्चको एमोलेड डिस्प्ले राखिएको छ भने एचडीआर प्लस १२० हर्ज स्क्रीन रेसियो छ।

फोनले फास्ट चार्जिङ्ग सपोर्ट गर्ने फोनमा ४६०० एमएएच ब्याट्री प्याक राखिएको छ।
यस बाहेक फोनमा अण्डर डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, एनएफसी, ब्लूटूथ ५.२ भर्सन, वाईफाई ६लगायतका फिचरहरु रहेका छन्।
नेपाली बजारमा शाओमी १२ प्रो ब्ल्याक, ग्रीन, ब्लू र पिंक कलर अप्सनमा उपलब्ध हुनेछ।
यसअघि यो फोनले चिनियाँ बजारमा पहिलो आधिकारिक बिक्रीमा रेकर्ड बनाएको थियो। यसअघि एमआई ११ सिरिजले ५ मिनेटमा कायम गरेको ऐतिहासिक डेढ अर्ब यूआन् अर्थात् २३ करोड ६० लाख डलर बराबरको बिक्रीलाई उछिनेर नयाँ कीर्तिमान कायम गरेको हो। कम्पनीको पछिल्लो डिजिटल फ्ल्यागशिप सिरिजका रुपमा आएको शाओमी १२ प्रो को प्रि-सेल सार्वजनिक भएलगत्तै शुरु भएको थियो।
प्रकाशित: २८ फाल्गुन २०७८, शनिबार