इन्जिनियर्स एशोसिएसन निर्वाचनः लोकतान्त्रिक समूहको घोषणापत्र सार्वजनिक

Technology Khabar १४ फाल्गुन २०७८, शनिबार

इन्जिनियर्स एशोसिएसन निर्वाचनः लोकतान्त्रिक समूहको घोषणापत्र सार्वजनिक

काठमाडौं ।

नेपाल इन्जिनियर्स एशोसिएसनको आसन्न ३३ औं कार्यकारिणी समिति निर्वाचनका लागि लोकतान्त्रिक इन्जिनियर समूहले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । समूहले ‘लोकतान्त्रिक इन्जिनियर समूहमा मतदाना, इन्जिनियरिङ समस्याको समाधान’ भन्ने नारासहित आफ्नो समूहलाई मतदान गर्न अपिल गरेको छ।

लोकतान्त्रिक इन्जिनियर समूहले विगतमा आफ्नो समूहका तर्फबाट नेतृत्वमा पुगेका अग्रजहरुकै कारण संस्थाको गरिमा बढेको र विभिन्न उपलब्धिहरु प्राप्त भएको स्मरण गर्दै आउँदा दिनमा संस्थालाई अझ सशक्त र प्रभावकारी रुपमा अघि बढाउन आफ्नो समूहको जीत अपरिहार्य रहेको जनाएको छ। संशोधित विधानअनुसार संघीय र प्रादेशिक तहमा निर्वाचन हुन गइरहेको र यस विधान संशोधनको श्रेय तत्कालीन अध्यक्ष ई। डा। हरेराम श्रेष्ठलाई जाने उल्लेख गरिएको छ ।

लोकतान्त्रिक इन्जिनियर समूहको नेतृत्वमा भएका उल्लेखनीय उपलब्धिहरु घोषणापत्रमा समेटिएका छन् । समूहको वृहत्तर उद्देश्यमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा, इन्जिनियरहरुको सेवा सुविधा तथा क्षमता अभिवृद्धि, सम्माजनक रोजगारी, इन्जिनियरिङ सम्बद्ध निजी क्षेत्रको विकास तथा हक हित संरक्षणलाई अघि सारिएको छ।

नयाँ नेतृत्वको दुई वर्षे कार्यक्रममा इन्जिनियरिङ तथा प्रविधि विश्वविद्यालय स्थापनालाई निर्णायक विन्दुमा पुर्याउने, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा आंगिक क्याम्पस स्थापनाका लागि पहल गर्ने, इन्जिनियरिङ शिक्षामा एकरुपता प्रदान गर्ने लगायत रहेका छन्।

यस्तै, निजामति सेवामा जगेडामा रहेका इन्जिनियहरुको उचित पदस्थापनका लागि पहल गर्ने, इन्जिनियर्स स्टाफ कलेज सञ्चालनमा ल्याउने, सीप र क्षमता अभिवृद्धिका लागि केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा प्रभावकारिताका साथ काम गर्ने योजना अघि सारिएको छ।

लोकतान्त्रिक इन्जिनियर समूहले निजी क्षेत्रमा कार्यरत इन्जिनियरहरुलाई न्यूनतम सरकारी स्केलसरह तलब प्राप्तिका लागि पहल गर्ने, प्राविधिक भत्ताको प्रयास गर्ने, नेपाली परामर्शदाता तथा विदेशीबीचको पारिश्रमिक विभेद अन्त्य गर्ने, भ्यालुअर्स एशोसिएसनसँग आवद्ध इन्जिनियरले मात्र मूल्यांकन कार्य गर्न पाउने कानुनी व्यवस्था गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरिएका छन् ।

बेरोजगार इन्जिनियरहरुको समस्या सम्बोधन गर्न रोजगारी सूचना आदानप्रदान केन्द्र स्थापना गर्ने, सरकारी तथा निजी क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न पहल गर्ने, निजी क्षेत्रमा कार्यरत इन्जिनियरहरुलाई आफैं उद्यमशील बनाउन अनुदान, ऋणको स्रोत व्यवस्थापन गर्ने एजेण्डा समूहले अघि सारेको छ । यस्तै, निजी क्षेत्रमा प्राध्यापनरत इन्जिनियरहरुलाई प्राध्यापकसम्म बन्न पाउने बाटो खुलाउने, इन्जिनियरिङ कलेज प्रयोगशालाका लागि सामग्री खरिदमा कर छुट र अनुदानको पहल गर्ने घोषणा गरिएको छ ।

लोकतान्त्रिक इन्जिनियर समूहबाट अध्यक्षमा दिलिपकुमार झा, उपाध्यक्षमा ऋषि कोइराला, महासचिवमा कृष्णसिंह बस्नेत, उपमहासचिवमा सुधिर गुरागाई, कोषाध्यक्षमा रमिता श्रेयठ र सहकोषाध्यक्षमा सञ्जयकुमार महतोले उम्मेदवारी दिएका छन् ।

यस्तै, समूहबाट सदस्य पदका लागि पराग कायस्थ, ढुण्डीराज दाहाल, बज्रमानसिंह थापा, लैला श्रेष्ठ, प्रजन हाडा, लक्ष्मण मण्डल, अन्जनी कुमार दवजु श्रेष्ठ, भरत मण्डल, सुभाष जोशी, नवीन तिवारी, रामशंकर जयसवाल र भोजराज यादवले उम्मेदवारी दर्ता गरेको लोकतान्त्रिक इन्जिनियर समूहले जनाएको छ ।

नेपाल इन्जिनियरिङ काउन्सिलमा समूहका तर्फबाट रत्नेश्वरलाल कर्ण समूह क, पुनम शाह समूह ख, भगतमान सिंह प्रधान समूह ग, टेकराज बोहरा समूह घ र रोमी मानन्धरले समूह ङ बाट उम्मेदवारी दिएका छन् ।

easy care

प्रकाशित: १४ फाल्गुन २०७८, शनिबार