पत्रकारलाई साइबर क्राइमको मुद्दा लगाउने प्रहरीको धम्की विरुद्ध पत्रकार महासंघको विरोध

Technology Khabar १४ फाल्गुन २०७८, शनिबार

पत्रकारलाई साइबर क्राइमको मुद्दा लगाउने प्रहरीको धम्की विरुद्ध पत्रकार महासंघको विरोध

काठमाडौं ।

पत्रकारलाई साइबर क्राइमको मुद्दासमेत लगाउन सक्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।

माइसंसार डटकम ब्लगमा प्रकाशित सामग्रीको आशय नै नबुझी प्रहरीले पत्रकार उमेश श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्राइमको मुद्दासमेत लगाउन सक्ने धम्की दिएको घटनाप्रति महासंघले विरोध जनाएको छ।

यसअघि सामाजिक सञ्जालमा भएका गलत कार्यहरुको बारेमा उजागर गर्दै उनले लेखेको सो लेखको बारेमा प्रहरीले बोलाएर सोधपुछ गरेको थियो। प्रहरीलाई नै सहयोग हुने सो ब्लगको बारेमा सोधपुछ गर्दै साइबर ब्यूरोले श्रेष्ठलाई बोलाएरै साइबर क्राइमको मुद्दासमेत लगाउने धम्की दिएको उनी आफैंले सार्वजनिक गरेका थिए।

उक्त ब्लगमा एमसीसीको बारेमा ‘फेक न्युज’ बनाएर पत्रकारिताको बदनाम गर्नेहरू’ शीर्षकमा लेखिएको सामग्रीलाई लिएर साइबर ब्युरोको कार्यालयमा बोलाई ब्युरोका प्रहरी नायव उपरीक्षक प्रदिन ताम्राकारले पत्रकार श्रेष्ठलाई अनावश्यक सोधपुछ गर्दै साइबर क्राइमको मुद्दा लगाउने धम्की दिएको भन्दै महासंघले उल्लेख गरेको छ।

“प्रहरीलाई सहयोग पुग्ने आशयमा लेखिएको उक्त ब्लगको भित्री कुरो नबुझी ब्युरोका जिम्मेवार अधिकारीबाट पत्रकारलाई स्पष्टीकरणको मौकासमेत नदिई धम्कयाउने कार्य गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो,” प्रेस विज्ञप्तिमा भनिएको छ।

पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न र आगामी दिनमा यस्ता विषयमा गम्भीर भई यस किसिमका घटना नदोहोर्याउन प्रहरी प्रशासनको समेत महासंघले ध्यानाकर्षण गराएको छ।

easy care

प्रकाशित: १४ फाल्गुन २०७८, शनिबार