प्र्यांकको नाउँमा शारीरिक-मानसिक हैरानी दिँदै गोप्य भिडियो बनाएर यूट्युबमा अपलोड गर्ने व्यक्ति पक्राऊ

Technology Khabar ४ फाल्गुन २०७८, बुधबार

प्र्यांकको नाउँमा शारीरिक-मानसिक हैरानी दिँदै गोप्य भिडियो बनाएर यूट्युबमा अपलोड गर्ने व्यक्ति पक्राऊ

काठमाडौं ।

सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टा वा मस्करी (प्र्यांक)को नाममा सर्वसाधारण व्यक्तिहरुलाई सास्ती दिएको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राऊ गरेको छ।

पक्राऊ पर्नेमा झापा जिल्ला, विर्तामड-४ आदर्शटोल स्थायी घर भई हाल भक्तपुर काैशलटार बस्ने २७ वर्षीय आकाश सेडाई रहेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ।

आरोपित सेडाईले सार्वजनिक स्थलहरुमा सर्वसाधारणलाई प्र्यांकको नाममा शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, दिक्दार लगाउने र ती क्रियाकलापहरुको गोप्य भिडियो तयार गरी नेपाली प्र्यांक्स्टर्स नामक यूट्युब च्यानलमा अपलोड गर्ने गरेको पाइएको ब्यूरोले उल्लेख गरेको छ।

यस प्रकारको गतिविधि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूर अन्तर्गत पर्ने भएकाले सोही अनुसार जिल्ला अदालत काठमाडाैंबाट फागुन ३ गते अनुमति लिएर पक्राउ गरी आदेश अनुसार ७ दिन म्याद थप गरी अनुसन्धान भैरहेको ब्यूरोले जानकारी दिएको छ।

यस प्रकारका सामग्रीहरु यूट्युबलगायत सामाजिक सञ्जालहरुमा थुप्रै रहेको र तिनीहरुमाथि पनि निगरानी तथा अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले टेक्नोलोजीखबरलाई बताए।

उनले भने, ‘लेखपढ तथा कामका सिलिसिलामा बाटो हिँडिरहेका व्यक्तिहरुलाई जबर्जस्ती रोकेर नाच्न, गाउन तथा अनावश्यक प्रश्नको उत्तर दिन बाध्य पार्नु कानूनको उल्लङ्घन गर्नु हो। ब्यूरोले यस्ता थुप्रै सामग्रीमाथि निगरानी गरिरहेको छ।’

गृह मन्त्रालयले गत माघ १३ गते कुनै पनि प्रकारको प्र्यांक गरेको तस्बिर तथा भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गर्नेलाई कारबाही गर्ने सूचना जारी गरेको थियो।

उक्त सूचनामा मन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन वा अपलोड गर्ने गरिएको भन्दै त्यसो गरेमा कारबाही हुने चेतावनी दिएको थियो।

यो पनि पढ्नुहोस्

प्र्यांक गर्ने नाममा तस्विर वा भिडियो सामाजिक सञ्जालमा सेयर गर्नेलाई कारबाहीको चेतावनी

प्र्यांक गर्नेलाई कारबाही गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बर्खिलाफ हुनसक्ने पत्रकार महासंघको चिन्ता

easy care

प्रकाशित: ४ फाल्गुन २०७८, बुधबार