Technology Khabar ३ फाल्गुन २०७८, मंगलवार
काठमाडौं ।
अर्बपति वारेन बफेटको बर्कशायर ह्याथवेले माइक्रोसफ्टले स्वामित्व ग्रहण गर्नुअघि नै एक्टिभिजन ब्लिजार्डको १ अर्ब डलरको शेयर किनेको खुलासा भएको छ।
यो तथ्य सोमबार नियामक कार्यालयमा दर्ता भएको दस्तावेजमार्फत् पत्ता लागेको रोयटर्सले उल्लेख गरेको छ।
बर्कशायरले गत डिसेम्बर ३१ मा आफूसँग कल अफ ड्यूटी निर्माता कम्पनीको ९७ करोड ५० लाख डलर बराबरको १ करोड ४७ लाख थान शेयर रहेको बताएको थियो।
माइक्रोसफ्टले एक्टिभिजन ब्लिजार्ड किन्ने आफ्नो योजना गत जनवरी १८ मा सार्वजनिक गरेको थियो। यसै अनुरुप उसले ६७ अर्ब ७० करोड डलरमा उक्त गेमिङ कम्पनीको स्वामित्व खरिद गरेको थियो।
एक्टिभिजनको प्रति शेयर मूल्य गत वर्षको तुलनामा २३ प्रतिशतले वृद्धि भएर ८१.५० डलर पुगेको भए पनि कम्पनीको स्वामित्व लिँदा प्रस्ताव गरिएको ९५ डलरभन्दा चाहिँ कम नै हो।
यसैगरी डेनियल लोएबको थर्ड प्वाइन्ट नामक हेज फण्डले पनि चोथो त्रैमासमा एक्टिभिजनको २० लाख शेयर किनेको रोयटर्सले जनाएको छ।
प्रकाशित: ३ फाल्गुन २०७८, मंगलवार