Technology Khabar ३ फाल्गुन २०७८, मंगलवार
काठमाडौं ।
नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् मोबाइल बैंकिङका विवरण मागेर ठगी गर्ने प्रचलन बढेकाले यस्ता विवरण कसैलाई शेयर नगर्न आग्रह गरेको छ।
मंगलबार ब्यूरोले एक विज्ञप्तिमार्फत् केही व्यक्ति तथा आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल ह्वाट्सएप, भाइबर, इमो लगायतका विभिन्न सोसल एपमार्फत् यस्ता विवरण माग्ने गरेको जानकारी दिएको छ।
ब्यूरोका अनुसार उनीहरुले भिडियो, अडियो तथा टेक्स्ट मेसेज गरी मोबाइल बैंकिङको यूजरनेम तथा पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाई ग्राहकहरुको गोप्य सूचना लिने तथा तपाईँलाई यति रकम चिठ्ठा परेको छ र उक्त चिठ्ठा परेबापत कर चुक्ता गर्नुपर्ने भएकोले बैंक तथा अनलाइन पेमेन्ट गेटवेमा पैसा जम्मा गर्नुहोस् भन्दै ठगी गर्ने गरेका छन्।
यसैले यस्ता भ्रामक कुरामा विश्वास नगर्न तथा कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी कोड वा संवेदनशील विषयको जानकारी कोही कसैलाई पनि नदिई प्रविधिको दुरुपयोगबाट बच्न तथा ठगी हुनबाट सतर्कता अपनाउन साइबर ब्यूरोले सबैलाई अनुरोध गरेको छ।
यसबाहेक नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागद्वारा समय समयमा विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमका सम्बन्धमा सर्वसाधारणका लागि जारी भएका सूचनासमेतबाट जानकारी लिनसमेत सुझाएको छ।
प्रकाशित: ३ फाल्गुन २०७८, मंगलवार