
काठमाडौं ।
-अनुज राज
पछिल्लो समय बढ्दो क्रिप्टो मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार र अनलाइन नेटवर्किङको बारेमा अध्ययन र नियन्त्रण गर्न विशेष कार्यदल गठन गरेको छ। अर्थ मन्त्रालयका राजस्व महाशाखाका प्रमुखको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको हो।
“मन्त्रालयका राजस्व महाशाखा प्रमुखको संयोजकत्वमा अध्ययन कमिटी गठन भएको हो। त्यसले क्रिप्टो मुद्राको कारोबार र अनलाइन नेटवर्किङ बारेमा अध्ययन गरेर सुझाब दिनेछ,” अर्थ मन्त्रालयका प्रवक्ता रितेश कुमार शाक्यले टेक्नोलोजीखबरसँग भने।
कार्यदलको अन्य सदस्यहरुमा सम्पत्ति शुद्धिकरण विभाग, राजश्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार प्रधिकरण र नेपाल प्रहरीका एक/एक जना उच्च अधिकारीहरु छन्। नेपाल दूरसञ्चार प्रधिकरणबाट निर्देशक विजयकुमार रोय सो कमिटीमा सदस्य रहेका छन्।
कार्यदलको सदस्यको रुपमा चयन भएको पत्र आफूले पाएको उनले बताए। “कार्यदल गठन भएको र सदस्य भएको पत्र पाएको छु अन्य विषयमा जानकारी छैन्,” उनले भने।
कार्यदल गठन गरिएको भएपनि त्यसको काम कर्तव्य र जिम्मेबारी तथा समयावधि भने स्पष्ट भएको छैन्।
अर्थका प्रवक्ताले पनि अध्ययन कमिटी गठन भएको तर त्यसको बारेमा आफूलाई समेत बिस्तृतमा जानकारी नभएको बताए।
“कमिटी गठन भएको हो तर त्यसको समयावधी तोकिएको वा नतोकिएको तथा अन्य विषयहरु बारे अहिले जानकारी भएन्,” उनले भने।
नेपालीहरुले बढ्दोरुपमा अनलाइन मार्केटिङ्ग र क्रिप्टोकरेन्सीमा लगानी गरिरहेको भन्दै यसअघि अर्थमन्त्रीले सो विषयमा अध्ययन गर्न टास्क फोर्स बनाउने बताएका थिए।
बजेटको अर्धवार्षिक समिक्षाको क्रममा पनि क्रिप्टोकरेन्सीको कारोबार र अनलाइन मार्केटिङ्गले नेपाली मुद्रा विदेशिएको उनले बताएका थिए।
केहि समयअघिदेखि राजस्व अनुसन्धान विभाग तथा नेपाल प्रहरीले समेत गैरकानूनी भनिएको क्रिप्टोकरेन्सी र हाइपर फण्डलगायतमा लगानी र कारोबार गरेको आरोपमा विभिन्न व्यक्तिहरुलाई पक्राउ र मुद्दा चलाउँदै आएको छ।
क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी अनलाइन जुवा, डिजिटल क्यासिनो, हाइपर फण्ड लगायतका गैरकानूनी कार्यबाट मुलुकको लगानीयोग्य पूँजी पलायन भइरहेको भन्दै मन्त्रालयले यसलाई रोक्न यस्तो कार्यादल बनाएको बताईएको छ।
प्रकाशित: १ फाल्गुन २०७८, आईतवार