इलन मस्कको स्पेसएक्सले प्रक्षेपण गरेको एउटा रकेट चन्द्रमासँग ठोक्किँदै

Technology Khabar १४ माघ २०७८, शुक्रबार

इलन मस्कको स्पेसएक्सले प्रक्षेपण गरेको एउटा रकेट चन्द्रमासँग ठोक्किँदै

काठमाडौं ।

इलन मस्कको स्पेसएक्सले प्रक्षेपण गरेको एउटा रकेट चन्द्रमामा ठोक्किएर विस्फोट हुने क्रममा रहेको छ।

बीबीसीका अनुसार सन् २०१५ मा स्पेसएक्सले प्रक्षेपण गरेको फाल्कन ९ बूस्टर मिसन सफल भएपछि पृथ्वीमा फर्कन पर्याप्त इन्धन नभएकाले अन्तरिक्षमै अड्किएको थियो।

यो रकेट चन्द्रमासँग ठोक्किने पहिलो मानवनिर्मित अनियन्त्रित अन्तरिक्षयान भएको अन्तरिक्षयात्री जोनाथन म्याक्डोवेलले बताएको बीबीसी न्यूजले जनाएको छ। तर यो ठक्कर र विस्फोटको असर नगण्य रहने बताइएको छ।

उक्त रकेट ७ वर्षअघि १ लाख ६० हजार किलोमिटर यात्रा गरेर अन्तरिक्षमा मोसमसम्बन्धी स्याटेलाइट पुर्याउने मिसन पूरा गरेपछि हाइ अर्बिटमा छोडिएको थियो।

यो रकेट मस्कको मानवलाई अन्य ग्रहमा लैजाने उद्देश्यसहितको व्यापारिक अन्तरिक्ष खोज कार्यक्रम स्पेसएक्स अन्तर्गतको हो।

सन् २०१५ देखि उक्त रकेटलाई पृथ्वी, चन्द्रमा तथा सूर्यको विभिन्न गुरुत्वाकर्षण शक्ति तानिरहेको र यसबाट रकेटको बाटो निकै गडबड भएको अमेरिकामा रहेको हार्भर्ड-स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्स प्रोफेसर म्याकडोवेलले बताएको बीबीसीमा उल्लेख छ।

उनले उक्त रकेट मृत:प्राय भइसकेको र हाल गुरुत्वाकर्षण शक्तिका आधारमा टिकिरहेको बताएका छन्।

यो रकेट अन्तरिक्षमा विभिन्न मिसन पूरा गरिसकेपछि पृथ्वीमा फर्कन पर्याप्त इन्धन नभएपछि अन्तरिक्षमै थन्किरहेका लाखो अन्तरिक्ष फोहरको थुप्रोमा रहेको छ।

‘एक दशकमा पूर्ण रुपमा बाटो बिराएर नियन्त्रणबाहिर गएका लगभग ५० ओटा ठूला उपकरणहरु रहेका छन्।

यस्तो यसअघि पनि एक दुईपटक भइसकेको र त्यसमा हाम्रो ध्यान पुग्न नसकेको हुन सक्छ। यो सुनिश्चित भएको पहिलो घटना हो’, प्रोफेसर म्याकडोवेलले भने।

आगामी मार्च ४ मा चन्द्रमालाई भेटेपछि उक्त उक्त रकेट ठक्कर खाने बीबीसी समाचारमा जनाइएको छ।

‘यो सामान्यतया: पछाडिपट्टि रकेट इन्जिनयुक्त ४ टनको खाली धातुको ट्यांक हो। र यसलाई ५ हजार माइल प्रतिघण्टाको रफ्तारमा कुनै चट्टानमा बजारियो भने विस्फोट हुने अवश्यम्भावी छ’, प्रोफेसर म्याक्डोवेलले भने।

उनका अनुसार यसले उक्त ठक्करपछप चन्द्रमाको सतहमा सानो कृत्रिम खाडल बनाउनेछ।

प्रकाशित: १४ माघ २०७८, शुक्रबार