प्र्यांक गर्ने नाममा तस्विर वा भिडियो सामाजिक सञ्जालमा सेयर गर्नेलाई कारबाहीको चेतावनी

  • Technology Khabar | १३ माघ २०७८, बिहीबार
प्र्यांक गर्ने नाममा तस्विर वा भिडियो सामाजिक सञ्जालमा सेयर गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौं ।

गृह मन्त्रालयले कुनैपनि प्रकारको प्र्यांक गरेको तस्विर तथा भिडियो खिचेर सामाजिक संजालमा प्रकाशन गर्नेलाई कारबारी गर्ने भएको छ। मन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन वा अपलोड गर्ने गरिएको भन्दै त्यसो गरेमा कारबाही हुने चेतावनी दिएको हो।

सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करीको नाममा व्यक्तिहरुलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता कार्यहरु गरेर गोप्य भिडियो तथा तस्विर खिच्नेहरुलाई कानूनी कारबाही गर्ने भएको हो।

मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति र अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ।

सार्वजनिकस्थलमा ख्यालठट्टाका नाममा गोप्यरूपमा भिडियो तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो मन्त्रालयलाई प्राप्त भएकाले सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिनेजस्ता गतिविधि नगर्न गृहमन्त्रालयले सम्बद्ध सबैलाई सचेत गराएको छ ।

सार्वजनिकस्थलमा गरिएका भद्दा ख्यालठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुनसक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्थामा पर्नसक्ने नकारात्मक प्रभावका साथै व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा पर्नसक्ने असरलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना व्यक्तिको तस्बिर र भिडियो नखिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन नगर्न मन्त्रालयले सचेत गराएको हो ।

प्रकाशित: १३ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार