क्यालिफोर्नियामा तीन वर्षअघि दुर्घटनाग्रस्त टेस्लाका चालकविरुद्ध मुद्दा दायर गरिने

Technology Khabar ५ माघ २०७८, बुधबार

क्यालिफोर्नियामा तीन वर्षअघि दुर्घटनाग्रस्त टेस्लाका चालकविरुद्ध मुद्दा दायर गरिने

काठमाडौं ।

तीन वर्षअघि क्यालिफोर्नियामा दुर्घटना भएको टेस्लाका चालकविरुद्ध घोर अपराधको मुद्दा दायर गरिएको छ।

सन् २०१९ मा आफ्नो अटो पाइलट मोडमा टेस्ला मोडल एस चलाउँदै गर्दा क्यालिफोर्नियामा रातो बत्तीमा रोकिराखेको होन्डा सिभिक गाडीमा ठक्कर दिएका केभिन जर्ज अजिज रियादमाथि उक्त मुद्दा दायर गरिन लागेको हो।

एसोसियटेड प्रेसका अनुसार उक्त दुर्घटनाका बेला अटो पाइलट मोड अन गरिएकाले उनमाथि मुद्दा दायर हुने भएको हो।

उक्त दुर्घटनामा होन्डा सिभिकका दुई जना यात्रुको मृत्यु भएको थियो भने रियाद र उनका साथी भने गम्भीर चोटपटक लाग्नबाट जोगिएका थिए। क्यालिफोर्नियाका अधिकारीहरुले रियादमाथि गत वर्षको अक्टोबरमा सवारी साधनमार्फतको ज्यान मुद्दा दायर गरिसकेका छन्।

अदालतको दस्तावेजमा भने अटो पाइलटका बारेमा केही खुलाइएको छैन। तर दुई वर्षदेखि यो घटनाको अनुसन्धान गरिरहेको नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन एनएचटीएसएले भने हालै दुर्घटनाका बेला अटो पाइलट मोड अन रहेको सुनिश्चित गरेको हो।

एनएचटीएसएले टेस्लाको  ड्राइभर असिस्टेन्स सिस्टममाथि गत अगस्टमा आधिकारिक रुपमा उजुरी गरेको थियो।

यसको मुख्य आधार समग्रमा १७ जनाको ज्यान जानेगरी भएको पार्क गरेर राखिएको आकस्मिक सेवाको सवारीसहित ११ दुर्घटनाहरु रहेका बताइएको छ।

उक्त संस्थाले यो बाहेक फुल सेल्फ ड्राइभिङ प्रविधिको बिटा भर्सनयुक्त क्यालिफोर्नियामा ठक्कर खाएकोसहित टेस्ला गाडी दुर्घटनाका अन्य घटनाहरुमाथि पनि छानबिन गर्ने भएको बुझिएको छ।

प्रकाशित: ५ माघ २०७८, बुधबार