युक्रेनका सरकारी वेबसाइटमा साइबर हमला, रुसको संलग्नता हुन सक्ने आशंका

Technology Khabar ३० पुष २०७८, शुक्रबार

युक्रेनका सरकारी वेबसाइटमा साइबर हमला, रुसको संलग्नता हुन सक्ने आशंका

काठमाडौं ।

यूक्रेनका सरकारी वेबसाइटहरुमा व्यापक रुपमा साइबर हमला भएको छ।

हमलाकारीहरुले ती वेबसाइटहरुमा यूक्रेनीहरुलाई ‘डरमा बस्न र योभन्दा अझै निकृष्ट अवस्थाको प्रतीक्षा गर्न’ चेतावनी दिएका छन्।

यो हमला बिहीबार साँझतिर भएको र शुक्रबार बिहान पनि कतिपय वेबसाइटहरु नखुल्ने बनाएकाले राजधानी कीभले यसबारेमा अनुसन्धान थालेको रोयटर्सले जनाएको छ।

यूक्रेनको विदेश मन्त्रालयका प्रवक्ताले रोयटर्सलाई बताए अनुसार अझैसम्म यो हमलाका पछाडि कस्को संलग्नता छ भन्ने पत्ता नलागेको भए पनि यसअघि यस्ता हमला गरिरहने रुसकै हात हुनुपर्ने अड्कल गरिएको छ।

उक्त साइबर हमलाबाट विदेश मन्त्रालय, मन्त्रिपरिषद तथा रक्षा र सुरक्षा मन्त्रालयलगायतका वेबसाइटमा समस्या आएको थियो।

राजधानी कीभ तथा उससँग संलग्न अधिकारीहरुले भने यूक्रेनमाथि रुसले सैन्य हमला गर्ने सम्भावनाको आकलन गरिरहेका समाचारमा उल्लेख छ।

‘अहिले नै निष्कर्ष निकाल्न अलिक चाँडै हुन्छ, तर रुसले यूक्रेनमाथि यसअघि पनि पटक पटक साइबर हमला गरेको इतिहास छ’, विदेश मन्त्रालयका प्रवक्ताले रोयटर्सलाई बताए।

रुसी विदेश मन्त्रालयले भने यसबारेमा सोध्दा तत्काल टिप्पणी गर्न नमानेको रोयटर्सले उल्लेख गरेको छ। रुसले यस अघि पनि यूक्रेनमाथि साइबर हमला गरेको आरोप अस्वीकार गरेको थियो।

‘यूक्रेनीहरु, तिमीहरुको सबै डाटा पब्लिक नेटवर्कमा अपलोड गरिएको छ। कम्प्युटरमा भएका सबै डाटा नष्ट गरिएको छ, यसलाई रिस्टोर गर्न असम्भव छ’, ह्याक भएको सरकारी वेबसाइटमा यूक्रेनी, रुसी र पोलिश भाषामा लेखिएको यस्तो सन्देश देखिने गरेको छ, ‘तिमीहरुका सबै जानकारी सार्वजनिक भइसकेको छ। डर मान र योभन्दा खतरनाक अवस्थाको अपेक्षा गर। यही नै तिमीहरुको भूत, वर्तमान र भविष्य हो।’

Global Bank
easy care

प्रकाशित: ३० पुष २०७८, शुक्रबार

ताजा समाचार