कनेक्टआइपीएसमार्फत् भएको कारोबार रकम एक महिनामा साढे २५ अर्ब वृद्धि

Technology Khabar ३० पुष २०७८, शुक्रबार

कनेक्टआइपीएसमार्फत् भएको कारोबार रकम एक महिनामा साढे २५ अर्ब वृद्धि
NTC_Advt

काठमाडौं ।

नेपालमा कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार रकम एक महिनामा २५ अर्ब रुपैयाँभन्दा बढीले वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को मंसिर महिनासम्मको चालु स्थूल अर्थतन्त्रात्मक वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको छ।

उक्त प्रतिवेदनमा यो आर्थिक वर्षको शुरुवाती तीन महिनामा कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार सङ्ख्या तथा रकममा क्रमश: बढेको र कार्तिक महिनामा भने कारोबार रकम र सङ्ख्यामा उल्लेख्य गिरावट आएको देखिएको छ। तर कार्तिक मसान्तदेखि मंसिर मसान्तसम्म आइपुग्दा कारोबार सङ्ख्या र रकम दुवै फेरि उकालो लाग्न थालेको छ।

असोज मसान्तसम्म आइपुग्दा कनेक्ट आईपीएसमार्फत् भएको कारोबार सङ्ख्या  ३५ लाख १० हजार २२६ रहेकोमा कार्तिक मसान्तसम्म आइपुग्दा ७ लाख ४९ हजार ७२३ ले घटेर २७ लाख ६० हजार ५०३ मा झरेको थियो।

तर त्यो संख्या मंसिर मसान्तसम्म आइपुग्दा केही बढेर २८ लाख ९५ हजार ६१७ पुगेको छ। यस हिसाबले यो एक महिनाको अवधिमा कारोबार सङ्ख्या १ लाख ३५ हजार ११४ ले बढ‍ेको देखिन्छ।

कारोबार रकमका हिसबले पनि एक महिनाको अवधिमा राम्रै गिरावट आएको देखिन्छ।

असोज मसान्तसम्म यस सेवामार्फत् २ खर्ब ३९ अर्ब १४ करोड ८० लाख रुपैयाँको कारोबार भएकोमा कार्तिक मसान्तसम्म आइपुग्दा यो रकम घटेर २ खर्ब ३ अर्ब ३ करोड ६० लाख रुपैयाँमा आइपुगेको थियो।

तर मंसिर मसान्तसम्मको एक महिनामा उक्त रकम २५ अर्ब ४१ करोड ८० लाखले बढेर २ खर्ब २८ अर्ब ४५ करोड ४० लाख पुगेको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: ३० पुष २०७८, शुक्रबार