नेपालमा बनेको सानोस्याट-१ ले अन्तरिक्षबाट पठाउन थाल्यो सिग्नल

Technology Khabar ३० पुष २०७८, शुक्रबार

नेपालमा बनेको सानोस्याट-१ ले अन्तरिक्षबाट पठाउन थाल्यो सिग्नल
NTC_Advt

काठमाडौं ।

नेपालको ओरियनस्पेस नामक अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने कम्पनीले बिहीबार राति स्पेसएक्सको रकेटमार्फत अन्तरिक्षमा पठाएको सानोस्याट-१ ले सिग्नल पठाउन शुरु गरेको छ।

यो परियोजनाका इन्जिनीयर जितेन थापाले सानोस्याट-१ तोकिएकै समयमा अन्तरिक्षमा पुगेको र अन्य स्याटलाइटहरु पनि डिप्लोय हुनुपर्ने भएकाले डिप्लोय हुन केही समय लागेको जानकारी दिए।

नेपाली समयअनुसार बिहीबार बेलुका ९:१५ मा प्रक्षेपण भएको  फाल्कन-९ रकेटमा भएका सबै पेेलोडहरु अवतरण गराएर  उक्त रकेट पृथ्वीमै फर्केको थियो।

अवतरणका बारेमा जानकारी दिँदै थापाले भने, ‘सानोस्याट-१ करिब १०:३० मा अर्बिट डिप्लोय भएको थियो, त्यसपछि यसले सिग्नल पठाउन शुरु गरिसकेको छ।’

नेपालमै नेपाली इन्जिनीयरहरुको प्रयासबाट बनेको पहिलो स्याटलाइट ‘सानोस्याट-१’ लैजाने स्पेसएक्सको फाल्कन-९ रकेटमा अन्य थुप्रै स्याटलाइटहरु भएकाले यसको ‘डिप्लोय’ केहीबेर अनिश्चित भएको थियो।

ट्रान्सपोर्टर ३ मिशन नाम दिइएको इलन मस्कको कम्पनी स्पेसएक्सको फाल्कन नाइन रकेटमार्फत् बिहीबार राति प्रक्षेपण भएको उक्त स्याटलाइट १ वर्षसम्म अन्तरिक्षको लो अर्थ अर्बिटमा बसेर बिटा, गामा लगायतका विकिरणहरुबारे पृथ्वीमा रहेको स्टेशनमा सिग्नल पठाउने बुझिएको छ।

‘हामी ती सिग्नलहरुहरुलाई ह्याम अर्थात् एमेच्योर रेडियोको शर्ट मेसेजका लागि प्रयोग गर्छाैं जसलाई जोखिम पूर्वसूचना तथा जमीनमा राखिएको सेन्सरमार्फत् कृषिका बारेमा पनि परीक्षण गर्न सकिन्छ’, थापाले भने।

प्रकाशित: ३० पुष २०७८, शुक्रबार