वनप्लस १० प्रो पहिलो फ्ल्याश सेलमा २० हजार थान बिक्री

Technology Khabar ३० पुष २०७८, शुक्रबार

वनप्लस १० प्रो पहिलो फ्ल्याश सेलमा २० हजार थान बिक्री
NTC_Advt

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्रान्ड वनप्लसले आफ्नो पहिलो फ्ल्याश सेलमा हालै सार्वजनिक भएको १० प्रो फोन २० हजार थान बिक्री गरेको छ।

बिहीबार चीनमा भएको फ्ल्याश सेलमा गत हप्ता सार्वजनिक भएको उक्त फ्ल्यागशिप मोडल २० हजार थान बिक्री भएको जीएसएमएरिनाले जनाएको छ।

ब्रान्डले आफ्नो वेबो एकाउन्टमा पोस्ट गरेको विवरण अनुसार १ सेकेन्डमै २० हजार थानको ब्याच बिक्री भएको र यसबापत् १० करोड चिनियाँ यूआन अर्थात् १ करोड ५७ लाख डलर कारोबार भएको थियो। यो रकम १८ देखि २१ हजार डिभाइस बराबरको रहेको कम्पनीको भनाइ छ।

यो फ्ल्याश सेल बिहीबार स्थानीय समय अनुसार बिहान १० बजे शुरु भएको र त्यहाँ उक्त डिभाइसको मोज्दात क्षणभरमै सकिएको बताइएको छ। यो सेल त्यहाँको ओपो स्टोर, वनप्लस डटकम, सुनिङ, टीमल तथा जेडी डटकममा गरिएको थियो।

यो डिभाइसमा ६.७ इन्चको १४४०पी रेजोल्युशनसहितको एलटीपीओ २.० एमोलेड स्क्रीन रहेको छ।

यसबाहेक यसमा ८ र १२ जीबी एलपीडीडीआर५ र्याम तथा १२८ र २५६ जीबी यूएफएस ३.१ आन्तरिक स्टोरेज रहेको छ।

फोटोका लागि वनप्लस १० प्रोमा ४८ मेगापिक्सेलको सोनी आईएमएक्स७८९ तथा ५० मेगापिक्सेलको सामसङ जेएन१ सेन्सर रहेका छन् भने सेल्फीका लागि ३२ मेगापिक्सेल शूटर दिइएको छ।

यो सेटको मूल्य ८/१२८ जीबी भेरियन्टको ७३७ डलर तथा १२/२५६ जीबीको ८३१ डलर तोकिएको छ।

प्रकाशित: ३० पुष २०७८, शुक्रबार