सीईएस २०२२ मा देखाईएको सुपर इलेक्ट्रिक बाइक, प्रतिघण्टा २७० किलोमिटरको गतिमा कुद्ने

Technology Khabar २९ पुष २०७८, बिहीबार

सीईएस २०२२ मा देखाईएको सुपर इलेक्ट्रिक बाइक, प्रतिघण्टा २७० किलोमिटरको गतिमा कुद्ने
NTC_Advt

काठमाडौं ।

सीईएस २०२२मा, धेरै कम्पनीहरूले आफ्नो नवीनतम र भविष्यवादी प्रविधि प्रदर्शन गरेका छन्। क्यानडास्थित अटोमोबाइल कम्पनी डेमन मोटर्सले पनि यस मेगा इलेक्ट्रोनिक शोमा सुपरफास्ट इलेक्ट्रिक मोटरसाइकलको नयाँ रेन्ज ल्याएको छ । यस इलेक्ट्रिक बाइकको प्रोटोटाइप कम्पनीले २०१९ मा प्रदर्शन गरेको थियो।

डेमन मोटर्सले यो इलेक्ट्रिक बाइकको टप स्पीड १७० माइल (लगभग २७३ किमी) प्रतिघण्टा रहेको दाबी गरेको छ। यसलाई एक पटक पूर्ण चार्ज गर्दा १४६ माइल (लगभग २३४ किमी) सम्म चलाउन सकिन्छ।

डेमन मोटर्सको यो इलेक्ट्रिक बाइक हाइपरफाइटर कोलोससको नामबाट आगामी दिनमा बजारमा आउनेछ। यस हाइपरस्पोर्ट बाइकको मूल्य ३५,००० डलर तोकिएको छ। चाँडै नै यो ग्राहकहरुलाई डेलिभरी गरिने बताईएकोछ।

कम्पनीकाअनुसार मिलेनियल्स (३५ वर्ष उमेर समूहका युवा)ले यो हाइपरस्पोर्ट बाइकप्रति निकै चासो देखाएको दाबी छ। योसँगै कम्पनीको हाइपरफाइटर लाइनअपका थप दुई मोडल पनि आउनेछन्।

हाइपरफाइटर कोलोससमा कम्पनीले आफ्नो पुरानो मोडलको डिजाइन र फाउन्डेसन प्रयोग गरेको छ। यसमा हाइपरड्राइभ पावरट्रेन र संरचनात्मक ब्याट्री सेटअप हुनेछ। यो सेग्मेन्टमा हाइपरफाइटर कोलोससले बजारमा आफ्ना सबै प्रतिस्पर्धालाई पछाडि छोड्ने कम्पनीले दाबी गरेको छ।

यस सुपर इलेक्ट्रिक बाइकको विशेष विशेषता भनेको यसमा कोपाइलट सिस्टम दिइएको छ, जुन ३६० डिग्री एड्भान्स वार्निङ टेक्नोलोजी हो, जसमा धेरै प्रकारका प्रविधि प्रयोग गरिएको छ । शक्तिशाली ब्याट्रीको अलावा, यसमा बलियो मोटर छ, जसले यसलाई  १७० किलोमिटर प्रति घण्टाको उच्च गति दिन्छ। डेमनको यो इलेक्ट्रिक बाइकसंग आउने अन्य दुई मोडेलको मूल्य १९,००० अमेरिकी डलरदेखि २५,००० डलर बीच हुनेछ।

डेमनको यो इलेक्ट्रिक बाइक लाईन-अप प्रि-बुक गर्न, प्रयोगकर्ताहरूले २५० डलरको फिर्तायोग्य रकम जम्मा गर्नुपर्नेछ। यो सुपर इलेक्ट्रिक बाइक व्यावसायिक रूपमा बजारमा ल्याइने बित्तिकै प्रयोगकर्ताहरूलाई डेलिभर गरिनेछ। तर, कम्पनीले डेलिभरीका लागि बढीमा २ वर्षको समय मागेको छ।

प्रकाशित: २९ पुष २०७८, बिहीबार