Technology Khabar २१ पुष २०७८, बुधबार
काठमाडौं ।
सामसङले फोकस र लेभल आफैं मिलाउने नयाँ पोर्टेबल प्रोजेक्टर सार्वजनिक गरेको छ।
यो प्रोजेक्टरको तोल १.८३ पाउन्ड रहेको छ भने यसमा अटो फोकस तथा अटो लेभलिङ फिचर समावेश गरिएको छ।
यी फिचरमार्फत् आफूले हेरिरहेका सामग्रीलाई कहाँ लेभल गर्ने र फोकस मिलाउने भन्ने विकल्प पाउन सकिन्छ।
यसमार्फत् भिडियो सामग्रीलाई ३० देखि १०० इन्चसम्मको साइजमा १०८० पिक्सेल रेजोल्युशनमा हेर्न सकिन्छ। यसको स्ट्यान्ड १८० डिग्री घुम्न सक्छ भने यसलाई सुतेको बेला सिलिङमा पनि प्रोजेक्ट गरेर भिडियो हेर्न सकिन्छ। यसबाहेक यो प्रोजेक्टरलाई स्ट्यान्डर्ड ई२६ लाइटबल्ब सकेटमा कनेक्ट गर्न सकिन्छ।
यसलाई हिँड्दै गर्दा प्रयोग गर्नुपरेको खण्डमा यसमा एउटा पानी नछिर्ने वाटरप्रूफ केश तथा पोर्टेबल ब्याट्री पनि उपलब्ध छ।
सामसङले ३६० डिग्री अडियो दिएका कारण यसलाई स्पीकरमा कनेक्ट गरिराख्नु पर्दैन भने यसमा फार फिल्ड भ्वाइस कन्ट्रोलको सुविधा पनि रहेको छ।
कम्पनीका अनुसार फ्रीस्टाइल प्रोजेक्टरमा सामसङ स्मार्ट टीभीका थुप्रै प्रविधि तथा कस्टमाइजेशन फिचरहरु उपलब्ध छन्। यो प्रोजेक्टर हाल सामसङ अमेरिकाको वेबसाइटमार्फत् ८९९ डलरमा प्रि अर्डर गर्न सकिनेछ भने आउँदा महिनाहरुमा अन्य क्षेत्रहरुमा पनि विस्तार हुने कम्पनीले जनाएको छ।
प्रकाशित: २१ पुष २०७८, बुधबार