
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत राष्ट्रिय सूचना प्रविधि नीतिको मस्याैदा तयार गर्नका लागि इच्छुक परामर्शदातृ संस्थाबाट आशयपत्र आह्वान गरेको छ।
राष्ट्रिय स्तरको परामर्शदातृबाट माग गरिएको आशयपत्रमा छानिएका संस्थाले नेपालको आईसीटी तथा डिजिटल अर्थतन्त्र क्षेत्रको निदानात्मक विश्लेषण गरी वर्तमान अवस्थाको नेपालको एकीकृत राष्ट्रिय सूचना प्रविधि नीतिको प्रारुप मस्याैदा गर्नेछन्।
तयार गर्नुपर्ने नीतिमा सूचना प्रविधि, ब्रोडब्यान्ड तथा दूरसञ्चारलाई मुख्यरुपमा केन्द्रित गर्नुपर्नेछ। यस्तै यसको कार्यान्वयनको कार्ययोजना समेत तयार गर्नुपर्नेछ।
दूरसञ्चार क्षेत्रको नीति विसं २०६० देखि यता समीक्षा र संशोधन नभएको र त्यसयता राजनीतिक उतारचढाव तथा डिजिटल कन्भर्जेन्सलगायत विभिन्न प्रविधिको विकास भइसकेकाले त्यसै अनुरुप मस्याैदा तयार पार्नुपर्ने आवश्यकता देखिएको सूचनामा उल्लेख छ।
छानिएका परामर्शदातृले विद्यमान नीति प्रारुपको समग्र सन्दर्भसहित नेपालको सूचना प्रविधि तथा डिजिटल अर्थतन्त्रको निदानात्मक अध्ययन गर्नेछन्।
यो अध्ययन देशको समग्र विद्यमान आईसीटी र डिजिटल अर्थतन्त्रको परिदृश्यमा केन्द्रित हुँदै विद्यमान नियामक उपकरण र नीतिको अभावलाई बाहिर ल्याउनेछन्।
उक्त संस्थाले उत्कृष्ट अन्तरराष्ट्रिय आईसीटी नीतिमा आधारित भएर सुझाव दिने तथा नीति निर्माणमा सहभागी हुने तथा नेपाल सरकारको नीतिको फर्म्याटमा नेपाली भाषामा बुझाउनुपर्ने सूचनामा उल्लेख छ।
यसका लागि इच्छुक र योग्यता पुगेका परामर्शदातृले आगामी जनवरी १४ मध्याह्न १२ बजेभित्र प्राधिकरणको कार्यालय जमलमा वा अनलाइनमार्फत् दिन चाहनेले www.bolpatra.gov.np/egp वा https://nta.gov.np/en/ मार्फत् पनि बुझाउन सकिने सूचनामा उल्लेख छ।
उक्त बोलपत्र क्यूईसी अर्थात् गुणस्तर, अनुभव र कार्यक्षमताका आधारमा खोलिने र यी सबैका अंकभार क्रमश: ५०, ४० र १० प्रतिशत हुने साथै भने उत्तीर्ण हुनका लागि ६० प्रतिशत अंक ल्याउनु आवश्यक हुने प्रावधान रहेको छ।
प्रकाशित: १८ पुष २०७८, आईतवार