बिदामा बसे टेलिकमका प्रबन्ध निर्देशक अधिकारी, नयाँ प्रबन्ध निर्देशक आउने अझै अनिश्चित

  • Technology Khabar | १६ पुष २०७८, शुक्रबार
बिदामा बसे टेलिकमका प्रबन्ध निर्देशक अधिकारी, नयाँ प्रबन्ध निर्देशक आउने अझै अनिश्चित
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी। फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी आफ्नो कार्यकाल सकिने अन्तिम समयमा बिदामा बसेका छन्। उनी आफ्नो कार्यकाल पुस २२ गते सकिनुभन्दा करिब एक साता अगाडि नै बिदामा बसेका हुन्।

नेपाल टेलिकमको कुनैपनि प्रबन्ध निर्देशक आफ्नो कार्यकाल सकिने दिनभन्दा अगाडि बिदामा बसेको टेलिकम इतिहासमा नै पहिलो भएको बताईएको छ।

उनले पुस १५ गतेदेखि लागू हुने गरेर आफ्नो कार्यकालको बाँकी समयका लागि औपचारिकरुपमा बिदा लिएको जानकारी दिए।

‘सबैसँग छलफल गरेर पुस १५ गतेदेखि बिदामा बसेको हुँ, यसअघि बस्ने चलन नभएपनि आफैंले स्वेच्छाले बिदा लिएँ,’ उनले टेक्नोलोजीखबरसँग भने।

यसले कम्पनीमा नयाँ आउने प्रबन्ध निर्देशकलाई पनि सहज हुने उनको ठम्याई छ।

प्रबन्ध निर्देशक अधिकारी बिदामा बसेपनि उनको पदमा नयाँ आउने प्रबन्ध निर्देशक को हुने हो भन्ने अझै निश्चित छैन्। अदालतमा मुद्दा परेसँगै सरकारले छनौट गर्न लागेको नयाँ प्रबन्ध निर्देशकको प्रकृया रोकिएको छ।

सर्वोच्च अदालतमा र उच्च अदालत पाटनमा नयाँ प्रबन्ध निर्देशक नियुक्ति प्रकृयाको बारेमा मुद्दा परेसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सो प्रक्रिया नै रोकेको छ।

सरकारले निश्चित अमुक व्यक्तिलाई प्रबन्ध निर्देशक बनाउन प्रबन्ध निर्देशकको नियुक्ति प्रकृयाको निर्देशिका नै संसोधन गरिएको भन्दै विरोध भईरहँदा अदालतमा समेत मुद्दा परेको हो। सो मुद्दाहरु हाल सुनुवाईको क्रममा रहेको छ।

सो पदका लागि ९ जनाले दरखास्त दिएका छन्।

तत्कालिन केपी शर्मा ओली सरकारले नियुक्त गरेका प्रबन्ध निर्देशक अधिकारीको पदाबधि ३ वर्षको तोकिएको छ र उनी पदाबधि सकिएसँगै पुरानै पदमा फर्कने छन्।

यसअघि नै उनले पुरानो पदमा फर्किएपनि आफू अध्ययन बिदामा बस्ने र आउने प्रबन्ध निर्देशकलाई सहज बनाईदिने बताएका थिए।

प्रकाशित: १६ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार