एकै महिनामा नेपाल टेलिकमको फोरजी ग्राहक संख्या साढे ८ लाखले बढ्यो

Technology Khabar १३ पुष २०७८, मंगलवार

एकै महिनामा नेपाल टेलिकमको फोरजी ग्राहक संख्या साढे ८ लाखले बढ्यो
नेपाल टेलिकमको फोरजी सेवाको लोगो । फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमले एक महिनाभित्रै साढे ८ लाख भन्दा धेरै फोरजीका सेवाग्राहीहरु बढाउन सफल भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको एमआईएस रिपोर्टअनुसार टेलिकमले असोज र कात्तिक महिनाको बिचमा साढे ८ लाख भन्दा धेरै फोरजी प्रयोगकर्ता थप गर्न सफल भएको हो ।

नेपाल टेलिकमका साथै निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले पनि एक महिनामा आफ्ना फोरजी ग्राहक सेवा वृद्धि गरेको छ ।

तथ्यांकअनुसार नेपाल टेलिकमले पछिल्लो एक महिनामा ८ लाख ५१ हजार ३६५ जना ग्राहक फोरजी सेवामा मात्र थप गरेको छ। नेपाल टेलिकमसँग असोज महिनामा फोरजीका ग्राहकहरु ६६ लाख ३४ हजार ६५ रहेका थिए। तर कात्तिक महिनामा सो संख्या बढेर ७४ लाख ८५ हजार ४३० जना पुगेका छन् ।

सोहि समयमा एनसेलले भने ८८ हजार ७६४ जना फोरजी ग्राहक थप्न सफल भएको छ । एनसेलसँग असोज महिनामा ६० लाख ५९ हजार ४८० जना फोरजीका ग्राहक थिए भने कात्तिक महिनामा त्यसमा वृद्धि हुँदै ६१ लाख ४८ हजार २४४ जना ग्राहक भएका छन् ।

यस बाहेक स्मार्ट टेलिकमका ग्राहकहरु भने घट्दै गएको देखिन्छ । स्मार्टसँग असोज महिनामा १ लाख ६७ हजार ९६ फोरजीका सेवाग्राही रहेकोमा कात्तिक महिनामा सो संख्या घटेर १ लाख ५३ हजार ७४५ ग्राहकमा सिमित भएको छ।

स्मार्ट टेलिकमको ग्राहकहरु घट्दै जानुमा कम्पनीको अनुमति पत्र रद्द हुनु कारक रहेको देखिन्छ । कम्पनीले सरकारलाई बाँकी बक्यौता रकम नतिर्दा नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति पत्र खारेज गरीदिएको छ भने सरकारले कम्पनीलाई स्वामित्वमा लिने अवस्थामा पुगेको छ।

स्मार्टको घटेपनि अन्य दुई अपरेटरहरुले भने फाईदा लिएका छन् ।
समग्रमा फोरजी सेवाका प्रयोगकर्ता देशभर १ करोड ३७ लाख ८७ हजार ४१९ जना पुगेको देखिन्छ।

यसैबिच फोरजीका सेवाग्राही बढिरहेको बेलामा थ्रीजीका सेवाग्राहीहरुको संख्या भने घटेको छ। थ्रीजीका प्रयोगकर्ताहरु कात्तिक महिनामा कुल १ करोड २४ लाख ५२ हजार ७३३ जना भएका छन् ।

यसअघिको महिनामा थ्रीजी प्रयोगकर्ताहरु १ करोड २५ लाख ८७ हजार ०४७ जना रहेका थिए । थ्रीजी सेवाग्राहीमध्ये सबैभन्दा धेरै नेपाल टेलिकमसँग आबद्द रहेको देखिन्छ।

easy care

प्रकाशित: १३ पुष २०७८, मंगलवार

ताजा समाचार